सरकारले गर्यो सत्य निरुपण आयोगमा नियुक्ति

माघ २७, काठमाडौं – सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा अध्यक्षसहितका पदाधिकारीको नियुक्ति गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठनका लागि गठित छनोट समितिले सिफारिस गरेका व्यक्तिलाई दुई वर्षका लागि नियुक्त गरेको हो ।

सरकारले सत्य निरुपण आयोगको अध्यक्षमा पूर्वराजदूत सूर्यकिरण गुरुङ तथा सदस्यमा लीला उदासी, कृष्ण सुवेदी, डा माधवी भट्ट र मञ्चला झालाई नियुक्त गरेको कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले जानकारी दिए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन, २०७१ को दफा ३ बमोजिम मानवाधिकारको गम्भीर उल्लङ्घनसम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिबारे सत्य अन्वेषण र छानबिन गरी यथार्थ विवरण जनसमक्ष ल्याउन आयोग गठन गर्ने कानुनी प्रावधानअनुसार सो नियुक्ति दिइएको हो ।

शान्ति प्रक्रिया टुङ्गोमा पु(याउने दुई महत्वपूर्ण आयोग गठनका लागि सरकारले गत असार २ गते गठन गरेको सो समितिले आठ महिनासम्म विभिन्न प्रक्रिया र विधिमार्फत नाम सङ्कलन गरी सोमबार मात्र सरकारलाई नाम सिफारिस गरेको थियो ।