‘संख्याले नै संविधान आउँछ’ : अध्यक्ष ओली

माघ २७, काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल एमाओवादीसहितका विपक्षीलाई ‘क्रस’ गरेर अघि बढ्न लागेको नभई संविधानसभामार्फत संविधान ल्याई त्यसैअनुसार नै सबैलाई अघि बढ्ने बाटो बनाउन लागेको बताएका छन्। राजधानीको नयाँबानेश्‍वरस्थित अल्फाबिटा हाउसमा सोमबार सम्पादकहरूसँग भेट गर्दै उनले संविधान बन्न नदिन एमाओवादीले ‘जरकमरक’ गरेको आरोप लगाए। ‘अहिलेको जरकमरक संविधान बन्‍न नदिनलाई हो। बनेपछि त्यही संविधानअनुसार देश चल्छ, उहाँहरू पनि चल्नुहुन्छ’, ओलीले भने।

उनले सकेसम्म ६०१ सभासद्कै नसके ४९० र त्यो पनि नभए दुई तिहाइबाट संविधान जारी गर्ने दाबी गरे। ‘संख्यात्मक हिसाबले नभए बन्दुकात्मक हिसाबले चल्ने त?’ उनले भने, ‘लोकतन्त्रमा जनताको मत संख्यात्मक हिसाबले नै प्रकट हुन्छ।’ ओलीले नेपाललाई तराई र पहाड भनी अलग गर्ने कुरा एमालेलाई अस्वीकार्य भएको पनि बताए।’जति प्रदेश भए पनि पहाडसँग मिसिएको प्रदेश हुँदैहुन्न भन्नु विचित्रको कुरा हो’, उनले भने, ‘नबिच्कियून् भनेर कतिपय अनुचितताका बाबजुद एमालेले सहमतिका निम्ति केही कुरा स्वीकार गरेको हो।
यसो भन्दैमा तराई र पहाड छुट्ट्याउनेमा एमाले बिल्कुल सहमत छैन।’ उनले असम्बन्धित ठाउँका व्यक्तिले ‘त्यो ठाउँ त छोड्नै सकिन्‍न’ भन्ने तर त्यहाँका जनप्रतिनिधिले ‘त्यो कुरा सुन्नै तयार नहुने’ अवस्था भएको पनि बताए।
उनले भने, ‘डिमान्ड बेग्लै रहेछ। तराई र पहाड नछुट्ट्याई नछाड्ने कुरा एमालेका लागि अस्वीकार्य छ,मान्दैन, हुँदैन।’ ओलीले तीन कुरामा सम्झौता गर्न नसकिने बताए।
पहाड र तराईलाई एक ठाउँमा रहन नदिने लामो समयदेखिको योजना पूरा हुन नदिने, दीर्घकालीन रूपमा सार्वभौमसत्ता र अखण्डता प्रतिकूल कुनै पनि निर्णय हुन नदिने, साम्प्रदायिक विद्वेष फैलाएर रुवान्डा, सुडान र नाइजेरिया बनाउने बाटो अपनाउन नसकिने उनको भनाइ थियो।
असम्भव प्रदेश बनाई टिक्न नसक्ने अवस्थामा फेरि लडाइँ, झगडा चलाउने कुरा संविधान निर्माणका नाममा गर्न नसकिने पनि उनको धारणा थियो।
उनले जातीयता कुनै माग नभई सेन्टिमेन्टमात्र भएको बताए। ‘यो विकासको बाटो होइन। यसले हामीलाई रुवान्डा बनाउँछ’, उनले भने, ‘सामाजिक सद्भाव खल्बलिन दिनु हुन्न।अन्नपुर्णले छापेको छ ।
‘उनले प्रदेशको जातीय नाम दिँदैमा जातीय प्रतिनिधित्वको सुनिश्चितता नहुने तर्क पनि गरे। उनले भने, ‘जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्छ भन्ने एमाले धारणा हो।’
ओलीले आधारभूत प्रश्नमा बाहेक अरू सबैमा सहमति गर्न तयार भएको बताए। दोस्रो संविधानसभा कुनै हालतमा असफल हुन नदिने र निकट भविष्यमै संविधान जारी हुने उनको दाबी थियो।

नेपाल र भारतबीच प्राकृतिक सम्बन्ध भएको बताउँदै ओलीले यताका पुलती उडेर उता जाने र उताका चरा यता आउने खालको सम्बन्ध भएकाले कसैले बिगार्न नसक्ने दाबी पनि गरे।

उनले भने, ‘यहाँको मामला त हाम्रो हो नि, यसमा भारतले किन पाखुरा सुर्कन्छ र? कूटनीतिमा अप्रिय कुरा कसैले गर्दैन।’
ओलीले साँचो कुरा बोल्ने बेलामा एकदमै होस गर्नुपर्ने अवस्था भएको बताउँदै लडाकुका सन्दर्भमा संसद् रोकेर पैसा लिएको कुरा ठीक भएन भन्ने आफ्नो धारणा सुनाए।