‘क्रिकेटरको सुविधामा ध्यान केन्द्रित गरेका छौं’

राष्ट्रिय टीमका २२ खेलाडीलाई मासिक रु.५ हजारदेखि रु.३५ हजार पाउने गरी १७ पुसमा एक वर्षका लागि अनुबन्ध गरेको नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेसँगको  कुराकानीः

 

खेलाडीलाई पहिलो पटक अनुबन्ध गर्ने जाँगर कहाँबाट आयो ?

क्रिकेट राम्रो भएका देशले डिभिजन–३, डिभिजन–२ खेल्ने आफ्ना खेलाडीसँग पनि ‘सेन्ट्रल कन्ट्रयाक्ट’ गरेका हुन्छन् । हामीले यो काम धेरै पहिले नै गर्नुपथ्र्यो । खेलाडीलाई क्रिकेट खेल्ने वातावरण तयार गर्न, उनीहरुलाई आर्थिक रुपमा बलियो तथा आत्मविश्वासी बनाउन समेत अनुबन्धको निर्णय लिइएको हो ।

खेलाडीको श्रेणी निर्धारणको आधार के हो ?

श्रेणी निर्धारणका लागि क्रिकेटमा व्यावसायिकता भएका देशले अपनाएकै सूचकलाई आधार बनाएका छौं । खेलाडीको प्रदर्शन, त्यसको कन्स्टिटेन्सी र क्रिकेटमा पुर्‍याएको योगदानका आधारमा राष्ट्रिय टीमका प्रशिक्षकले गरेको प्रस्तावलाई नै क्यानले लागू गरेको हो । श्रेणी हरेक ६/६ महीनामा पुनरावलोकन हुन्छ । क्यानको बजेट बढेपछि अहिलेको रकम पनि बढाउँदै लैजान्छौं ।

यसलाई क्रिकेटमा व्यावसायिकताको शुरुआत मान्न सकिएला ?

नेपाली क्रिकेटका लागि यो एउटा कोसेढुंगा हो । खेलाडीहरुलाई देशका लागि खेल्न यसबाट थप प्रोत्साहन मिल्नेछ । यसले क्रिकेटमा व्यावसायिकता विकासका लागि पनि सहयोग पुग्ने विश्वास छ ।

अनुबन्धित खेलाडीहरूबाट अपेक्षा के छ ?

अहिले पनि खेलाडीले हाम्रो अपेक्षाभन्दा धेरै योगदान दिइरहेका छन् । योगदानको तुलनामा क्यानले खेलाडीलाई केही दिनै सकेको छैन भन्दा हुन्छ । यसअघि टीममा पर्नेले मात्र मासिक रु.१० हजार पाउने गरेकोमा अब चाहिं खेलाडीलाई खेलमै केन्द्रित भइरहन सहयोग पुग्ने आशा छ ।

क्यानका अरु योजना के–के छन् ?

तत्काललाई खेलाडीको सेवा सुविधामै केन्द्रित हुनुपर्छ । खेलाडीलाई ब्रान्डिङका लागि सहयोग गर्ने, थप अवसरको खोजी र कोष वृद्धिका लागि प्रयास गर्ने लगायतका योजना छन् । खेलाडीलाई आर्थिक रुपमा सुदृढ बनाउन सक्दा मात्रै नेपाली क्रिकेट बलियो हुन्छ । साप्ताहिक खबरपत्रिका हिमालबाट