सैनिक श्रीमती संघद्वारा सीपमूलक तालिम सुरु

पुष ६, काठमाडौँ- सैनिक श्रीमती सङ्घले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) को आर्थिक एवम् प्राविधिक सहयोगमा छाउनीस्थित आफ्नै भवनको व्यावसायिक तालिम केन्द्रमा विभिन्न तालिम सुरुवात् गरेको छ ।

आइतबारदेखि सुरु भएको सो तीन महिने तालिमअन्तर्गत कम्प्युटर हार्डवेयर, वस्त्रकला (फेसन डिजाइन), सिलाइ बुनाइ (ड्रेस मेकर्स) र सौन्दर्य व्यवसाय (ब्युटिसियन) रहेका छन् । ती तालिममा ११८ जना महिलाको सहभागिता रहेको छ । संघले आफ्नै पहलमा तयार गरेको सो भवन गत असोज महिनादेखि सञ्चालनमा आएको थियो ।
वीरगति प्राप्त गरेका सैनिकका श्रीमती, कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त गरेका सैनिकका श्रीमती तथा तिनका अविवाहित छोरी तथा बहालवाला सैनिकका श्रीमतीको सो तालिममा सहभागिता रहेको छ । जीविकोपार्जनका लागि सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने ध्येयले ती तालिमहरू सञ्चालनमा ल्याइएको संघले जनाएको छ ।
प्रधानसेनापति गौरवशम्शेर जबराले ती तालिमको शुभारम्भ गरेका छन् । कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव एवम् इभेन्ट परियोजनाका निर्देशक लक्ष्मीराम पौडेलले सीप सिकाइ आत्मनिर्भर बनाउने ध्येयले परियोजनाले काम गरेको जानकारी दिए ।
उनका अनुसार चारवर्षे सो कार्यक्रमअन्तर्गत एक लाख युवालाई सीपमूलक तालिम दिने लक्ष्य राखिएको छ । साथै सीप भएका तर प्रमाणपत्र नभएकालाई सीप परीक्षण गरी प्रमाणपत्र दिने लक्ष्यसमेत परियोजनाले राखेको छ ।
कार्यक्रममा सैनिक श्रीमती संघका अध्यक्ष रोहिनी राणाले महिला सशक्तीकरणका लागि तालिम आयोजना गरिएको जानकारी दिइन् ।