दाङको विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या

बैशाख ९, काठमाडौं दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या भएको छ ।

त्यहाँ रहेको ‘सोलार सिस्टम’ बिग्रिएपछि खानेपानीको समस्या भएको हो । यसअघि स्थानीय माथिल्लो पँधेराबाट ‘लिफ्टङ’ गरेर खुमखानी लगिएको थियो । तर, पछिल्लो एक महिनादेखि पानी तान्ने उपकरण बिग्रिएपछि खानेपानीको समस्या भएको स्थानीय अमर घर्तीले जानकारी दिए ।

खानेपानीको मोटर बिग्रिँदा त्यहाँका ३५ घरधुरी प्रभावित छन् । हाल पानी ल्याउन दुई घण्टा हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । “अहिले खानेपानीको मोटर बिग्रिँदा गाउँमा पानी आएको छैन”, उनले भने “अहिले दुई घण्टा हिँडेर माथिल्लो पँधेराको मुहानमा खानेपानी ल्याउनुपर्ने अवस्था छ ।”

खानेपानीको हाहाकार हुँदा त्यहाँका नागरिक पलायन हुने अवस्था रहेकोसमेत उहाँको भनाइ छ । “बाह्र वर्षभन्दाअघि खानेपानी नहुँदा धेरै घर बसाइँसराइ गर्नुभएको थियो”, उनले भने “अब पनि पानी नआउने अवस्था भएमा गाउँ नै पलायन हुने अवस्था आउन सक्छ ।”

तुलसीपुर उपमहानगरपालिका, विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले समस्या समाधानतर्फ ध्यान नदिएको तुलसीपुर–४ निवासी जितबहादुर थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *