कुनै पनि आयोजनाको पिपिए रोकिँदैन

कात्तिक २५,काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले २५ मेगावाट साना कुनै आयोजना विद्युत खरिद सम्झौता नरोकिने बताएका छन्।  नागरिक दैनिकमा समाचार छ । निजी क्षेत्रका प्रवर्द्धकबाट प्राधिकरणले पिपिए रोकेर जलविद्युत विकासमा समस्या खडा गरेको भन्ने टिप्पणी आइरहँदा कार्यकारी निर्देशक काफ्लेले यस्तो बताएका हुन्।
पाइपलाइनमा रहेका आयोजनाको धमाधम पिपिए भइरहेको जानकारी दिँदै उनले भने, ‘२५ मेगावाट ठूला आयोजनाको पिपिए गर्ने विषयमा एक कमिटीले काम गरिरहेको छ, यसको पनि केही दिनभित्र टुंगो लाग्छ।ु अरु प्रवर्द्धकले पिपिए रोकियो भनेर चिन्ता गर्नु नपर्ने पनि काफ्लेले प्रस्ट्याए।

सोमबार ऊर्जा पत्रकारसँगको भेटघाटमा उनले कसैको प्रलोभनमा काम नगर्ने र आफू संस्थाभित्रको चुनौती स्वीकारेर आएको बताए। आयोजनाका प्रवर्द्धकलाई प्राधिकरणले पिपिए नगरेको भन्ने गलत सूचना नफैलाउन सुझाए। प्रक्रिया पुर्‍याएका कुनै आयोजनाको काम नरोकिनेमा उनले जोड दिए।

निर्माणाधीन जलविद्युत र प्रसारण लाइन आयोजनाका समस्या समाधानमा आफू प्रतिवद्ध रहेको काफ्लेको भनाइ छ। यी आयोजनामा देखिएका प्रक्रिया र संस्थागत समस्या प्राधिकरणले सजिलै समाधान गर्न सक्ने तर सामाजिक र राजनीतिक समस्या समाधान गर्न सरकार तथा राजनीतिक दलले पनि सहयोग गर्नुपर्ने उनको धारणा छ।