अस्पताल स्थापनाको ३३ वर्षसम्म ४३ लाख नागरिकलाई सेवा

फागुन १९, काठमाडौं – पोखरा महानगरपालिका १७ घारीपाटनस्थित नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालले आफ्नो स्थापनाको ३३औँ वर्षमा आइपुग्दा ४३ लाख नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ ।
अस्पातलको ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा  अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङले २०४९ सालमा स्थापित अस्पतालले हालसम्म ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी दिए। उनका अनुसार अस्पतालमा सन् २०२५ मा मात्रै दुई लाख ४७ हजार ५८५ जनाले सेवा लिएका छन् भने १५ हजार ८४१ जनाको शल्यक्रिया गरिएको छ ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले ३९ कर्मचारीबाट सुरु भएको अस्पतालमा हाल १२५ जना नेपाली दक्ष जनशक्ति कार्यरत रहेका जानकारी दिए  । उनका अनुसार अस्पतालले हाल गण्डकी र कर्णालीमा २७ वटा उपचार केन्द्र र दुईवटा सहायक अस्पतालमार्फत सेवा दिइरहेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसलाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्ने बताए ।
नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले पूर्वाधार विकासमा सरकारको सहयोग आवश्यक भएको बताए । सङ्घका उपाध्यक्ष प्रा डा दिलबहादुर क्षेत्री, महासचिव भरतबहादुर चन्दलगायतले अस्पतालको सेवा विस्तारलगायतका विषयमा जानकारी गराए ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीका रूपमा डा अनिल पराजुली, अनुप सुवेदी, उमा सुनुवार र विकल श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै विभागतर्फ जनरल ओपिडी भिजन एण्ड रिफ्र्याक्सन युनिटलाई पुरस्कृत गरिएको थियो ।
अस्पतालमा लामो समय योगदान दिने कर्मचारी गोविन्दनाथ योगी, मन्जु आचार्य, गोविन्दराज बडू, विजय पौडेल, शशिकमला लामिछाने, तेजबहादुर गुरुङ, रीना गुरुङ, धर्मेन्द्रकुमार घोडासैनी, रुपसिंह बोहोरा, दीप गुरुङ, तस्बिरन मियाँ, दीपिका गुरुङ र दीपा शाहीलाई पनि सम्मान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *