कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

फागुन १९, काठमाडौं – टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आएका छन् । सिँचाइको सहजता हुने र उत्पादन पनि राम्रो दिने भएपछि उहाँले कर्णाली नदी किनार तथा टापुको सदुपयोग गर्दै खेती गर्दै आएका छन्

उनले त्यस क्षेत्रमा प्याजखेतीलाई प्राथमिकता दिएका छन् । उनको प्याजखेती निकै लोभलाग्दो छ । बर्सेनि १० देखि १२ क्विन्टल प्याज नदी टापुबाट उत्पादन गर्दै आउनुभएका उनले प्याजसँगै धनिया, मकै, बन्दागोभी, टमाटरसमेत उत्पादन गरेका छन् । “बालुवामा प्याजले राम्रो उत्पादन दिन्छ । प्याजलाई सिँचाइ धेरै चाहिने हुँदा सिँचाइको सहजता हुँदा प्याज राम्रो उत्पादन हुन्छ ।” उनी भन्छन् , “खाली खेर गइरहेको बगरको सदुपयोग भएको छ, स्थानीयको आम्दानीको स्रोत बनेको छ ।”

कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिका जोड्ने सत्ती पुल आसपास क्षेत्रमा आजभोलि हरियाली छ । ढुङ्गा नभएको बालुवा भएको क्षेत्रमा सानासाना प्लट बनाइएका छन् । जहाँ लहरै प्याजको खेती छ । वडा नं ८ फाँटागाउँका ५०–६० घरपरिवारले कर्णाली नदी किनार तथा टापुमा प्याजखेती गर्दै आउनुभएको छ । बर्सेनि उक्त सङ्ख्या बढ्दै गएको देखिन्छ । बगरबाट बर्सेनि लगभग ७०० क्विन्टल बढी प्याज उत्पादन हुने गरेको छ । “एक परिवारले न्यूनतम पाँच–छ क्विन्टल प्याज उत्पादन गर्नुहुन्छ । उत्पादन सोचेभन्दा राम्रो हुन्छ ।” स्थानीय सम्झनी चौधरी भन्छिन् “अहिले बगरमा खेती गर्ने किसानको सङ्ख्या पनि बढेको छ । पहिलेको भन्दा क्षेत्र पनि बढेको छ ।” उहाँले अन्य खेतबारीमा लगाएको प्याजभन्दा बगरमा गरेको प्याजको उत्पादन राम्रो हुने गरेको बताइन् ।

टीकापुर नगरपालिका–८ बटनपुरकी सम्पुर्नी चौधरीले पहिलोपटक नदीको टापुमा प्याजखेती गर्नुभएको छ । गत वर्ष अरुले खेती गरेको देखेर यसपटक पाँच केजी प्याज लगाएकी उनले सोचेभन्दा राम्रो उत्पादन दिनेमा विश्वस्त हुनुहुन्छ । हरेक बिहान प्याज सिँचाइ गर्न पुग्नुहुने सम्पुर्नीलाई आजभोलि अलि बढी खेती गरेको भए हुने थियो भन्ने लागेको छ । “मैले अपेक्षा गरेभन्दा राम्रो गरी प्याज फस्टाएको छ । बालुवाभित्रको जमिन ओसिलो हुने हुँदा होला, घामपानीको मात्रा मिलेको देखिन्छ”, सम्पुर्नी भन्छिन् “मैले घरमा लगाएको प्याजभन्दा राम्रो बगरको भएको छ ।”

बटनपुरकै पहारी चौधरीले पनि पहिलोपटक बगरमा प्याजखेती सुरु गर्नुभएको छ । खेर गइरहेको बगरबाट उत्पादन हुन्छ भन्ने थाहा पाएपछि उनले आफूलाई घरका लागि चाहिने जति प्याज रोप्नुभएको छ । “मलाई बिक्री गरेर आम्दानी गर्नुभन्दा पनि आफूलाई वर्षभरि पुग्ने प्याज उत्पादन भए पुग्छ”, उनी भन्छिन् , “बरु अर्को वर्ष बिक्री गर्नेगरी लगाउनुपर्ला ।” बगरमा नयाँ किसानले परीक्षण गर्न भन्दै प्याजखेती गर्ने गरेको भए पनि विगतदेखि खेती गर्दै आउनुभएका किसानले व्यावसायिक रूपमा नै बगरको सदुपयोग गर्दै आउनुभएको छ । खेती गरेबापत कसैलाई केही दिन नपर्ने भएपछि किसानले झन् उत्साहित भएर खेती विस्तार गर्दै आएकी छन् ।

अस्वाभाविक रूपमा बगरबाट आम्दानी गर्न थालेपछि त्यस क्षेत्रका नागरिकहरू निकै उत्साहित छन् । सामान्य मलखाद अनि कम मिहेनतले राम्रो आम्दानी हुने गरेको छ । वर्षात्को समयमा त्यहीँ कर्णाली नदीका कारण रातभर जाग्राम बस्ने वस्ती आजभोलि त्यहीँ कर्णाली नदीका बालुवाका फाँटको उत्पादनले वर्षात्को पीडा बिर्सने गरेका छन् । “वर्षात्को समयमा यहीँ कर्णालीको बेगले जतिबेला जे पनि हुनसक्छ भन्ने चिन्ताले सताउने गर्छ । हिउँदमा निदाएको कर्णालीले स्थानीयलाई राम्रो आम्दानी दिँदै आएको छ ।” स्थानीय बृहस्पति थरूनी भन्छिन् , “किसान आजभोलि त्यो बर्खाको दुःख सम्झिँदैनन्, बर्खामा आजभोलि दिने उत्पादन बिर्सन्छन् ।”