प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा

फागुन २९, काठमाडौ – धनगढी उपहानगरपालिका–१३ राजपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्नेगरी रु आठ करोड २१ लाख ४१ हजारमा २०७८ भदौ ५ मा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अवधिमा भवन निर्माण सम्पन्न नगरेपछि उक्त कम्पनीसँग २०८१ वैशाख ३० गतेसम्मका लागि समयावधि थप भएको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ । कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । अहिले भवनमा ‘फिनिसिङ’को काम भइरहेको उहाँले जानकारी दिए ।

प्रत्येक प्रदेशमा एक–एकवटा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने सङ्घीय सरकारको नीति रहेको जनाइएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउन २०७४ सालमै दरबन्दी स्वीकृत गरेको जनाइएको छ । जसअन्र्तगत सुदूरपश्चिममा पनि ११ जनाको दरबन्दी स्वीकृत गर्दै एकजना प्रयोगशाला अधिकृत र एकजना लेखापाललाई प्रादेशिक प्रयोगशालामा खटाएर कार्यालय खोलिएको थियो ।

प्रयोगशाला स्थापना गरिए पनि आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । विशेष प्रकृतिका जाँचमा सहजता ल्याउने उद्देश्यले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको जनाइएको छ । स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा रहेको प्याथोलोजी प्रयोगशालाको जाँचको उचित प्रयोग नगरी सही उपचार सम्भव नभएकाले जनस्वास्थ्य प्रयोगशाला स्थापनापश्चात यसको पहुँच सर्वसाधारणसम्म पुग्न सक्ने अपेक्षा गरिएको छ । प्रदेशस्तरीय प्रयोगशालामा रोगको मोलिक्युलर जाँच, जेनेटिक रोगका जाँच तथा थप अन्य सम्पूर्ण किसिमको जाँचलगायत सङ्क्रामक र नसर्ने रोगको पहिचान, निदान, सर्भे, सर्भिलेन्स, अनुसन्धानलगायतका सेवा प्रदान गरिने जनाइएको छ ।