राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले आज सपथ लिँदै

 

फाल्गुन २१,काठमाडौ -राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैछन्। संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका एक तिहाइ सदस्यको हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्थाबमोजिम २० जना सदस्यको पदावधि आइतबार सकिएको छ।

तीमध्ये १९ पदमा गएको माघ ११ गते निर्वाचन भएको थियो भने एक पदमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्न बाँकी छ। ७ प्रदेशबाट निर्वाचित भएका १९ सांसदहरुको भने सोमबार विहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा शपथग्रहण गराउने कार्यक्रम रहेको छ।

नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले शपथग्रहण गराउनेछिन्। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भने गएरातिबाटै पदावधि सकिएको छ।

माघ ११ को निर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रुकमिणी कोइराला र कृष्णप्रसाद सिटौला, मधेश प्रदेशबाट पूजा चौधरी र आनन्दप्रसाद ढुंगाना, बागमती प्रदेशबाट विष्णुदेवी पुडासैनी, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी र जितजगं बस्नेत, गण्डकी प्रदेशबाट मनरुपा शर्मा, पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ, लुम्बिनी प्रदेशबाट विष्ण्कुमारी सापकोटा र झक्कुप्रसाद सुवेदी, कर्णाली प्रदेशबाट सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा र कृष्णबहादुर रोकाया, सुदूरपश्चिम प्रदेशबाट रेनु चन्द, नारायणदत्त भट्ट र बलदेव बोहरा निर्वाचित भएका थिए। शपथग्रहणपछि नवनिर्वाचित सदस्यहरूसहित राष्ट्रिय सभा बैठक दिउँसो १ः १७ बजे बस्दैछ।