भक्तपुरमा पहिलो पटक एमआरआई सेवा

कात्तिक २२, भक्तपुर  -bभक्तपुरमा पहिलो पटक एमआरआई सेवा शुरु भएको छ । मध्यपुरथिमिमा विगत १३ वर्षदेखि सञ्चालनमा रहेको मध्यपुर अस्पतालले आफ्नो स्थापनाको १३ वर्षमा १३ करोडको लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए ।

बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन र एमआरआई सेवाका लागि बिरामीले काठमाण्डौका विभिन्न अस्पतालमा भौँतारिन नपरोस् भनी सहुलियतमा सेवा दिने गरी एमआरआई मेसिन ल्याएर सेवा शुरु गरेको उनले बताए।

अस्पतालकी निर्देशक एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रविना प्रधानाङ्गले विभिन्न रोग पत्ता लगाउन रेडियोलोजी विधामा एक्सरे, अल्ट्रासाउन्ड र सिटी स्क्यानपछि नयाँ प्रविधिको रुपमा एमआरआई प्रविधिको विकास भएको बताए ।

मध्यपुर अस्पतालले भक्तपुर जिल्लामै पहिलो पटक एमआरआई सेवा शुरु गरेको भन्दै अध्यक्ष कार्कीले अब एमआरआई सेवा लिन भक्तपुर तथा काभ्रे लगायतका पूर्वका बिरामीले काठमाण्डौ भौँतारिनुपर्ने बाध्यता अन्त्य भएको दाबी गरे ।