कोहलपुर गोल्डकप आजदेखि

कात्तिक १५, काठमाडौ -पश्चिम नेपालको शहर कोहलपुरमा आज बुधबारदेखि मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ ।

नेपालका ठुला ए डिभिजन क्लबलाई समेत समावेश गर्दै सञ्चालन गर्न लागिएको प्रतियोगितामा ८ टिम सहभागी छन् ।

कोहलपुर रेसिङ्ग क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिन उद्घाटन खेलमा आयोजक रेसिङ्ग साहारा र ए डिभिजन च्याम्पियन चर्च ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
कोहलपुर नगरपालिकास्थित तेह्र विगाह मैदानमा हुने खेल दिउँसो २ बजे सुरु हुने तालिका छ ।

प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता व्यवस्थापनका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका अध्यक्ष चक्र क्षत्रीले जानकारी दिएका छन् ।

पश्चिम नेपालका फुटबल गतिविधि बढाउन र खेलाडी उत्पादनमा सहयोग पुर्याउन प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका नवकिरण शाहले बताएका छन् ।