इजराइलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो

असोज २४, एजेन्सी  – इजराइल–हमास द्धन्दमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज ९आईडीएफ० का प्रवक्ताले बुधबार बताएका छन् । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो ।

“मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ”, आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडियो मेसेजमा भने । उनले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिए ।

यसैबीच इजराइलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बुधबार बताएका छन् ।

हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजराइली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको एएफपीलाई जानकारी दिए ।

इजराइली सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।