कांग्रेसको अगुवाइबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः राणा

असार २२, काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएका छन्

कांग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रय कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले भने, “विगतमा नेपाली कांग्रेसले लिएको सिद्धान्तकै कारण आज मुलुकमा लोकतन्त्र स्थापना भएको हो र लोकतान्त्रिक शासन व्यवस्थाका कारण नै देश विकासले गति लिएको हो ।”

डा राणाले नेपालमा विसं २००७ सालको क्रान्तिदेखि विसं २०४६ मा प्रजातन्त्रको पुनस्र्थापना र विसं २०६२÷६३ को जनआन्दोलनको नेतृत्व एवं अगुवाई नै नेपाली कांग्रेसले गरेको स्मरण गर्दै पार्टीको यो गौरवशाली इतिहासलाई मनन् गरेर तरुण दलका कार्यकर्ताहरु लाग्नुपर्ने बताए ।

नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाका लागि विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले समय समयमा लडेका र जसका कारण नेपाली नागरिकले अहिलेको गणतान्त्रिक व्यवस्था प्राप्त गर्न सकेका पनि उल्लेख गरे ।

डा राणाले कांग्रेसका नेताहरुको योगदान र आदर्शको अनुशरण गरी लोकतन्त्र र विधिको शासनका लागि लाग्न नेपाल तरुण दलका समग्र सदस्यहरुलाई आग्रह पनि गरे ।

कांग्रेस पार्टी र मुलुकको भविष्य नै तरुण दलमा आवद्ध देशका समग्र युवाहरुको हातमा रहेको भन्दै कांग्रेसका नेताहरुले देखाएको मार्गमा हिँड्न सबै तरुण सदस्यहरुलाई सुझाव पनि दिए ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका राणाले नेपाली कांग्रेससँग विकास र समृद्धिको स्पष्ट नीति रहेको र कांग्रेसले लिएकै नीतिबाट मुलुक विकासको गतिमा अघि बढेको पनि उनले बताए ।

नेपाल तरुण दलको अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा नेपाल तरुण दलको केन्द्रीय समितिका सदस्यहरुले आज डा देउवासँग अन्तरक्रिया गरेका थिए ।

सो अवसरमा डा राणाले हालै सदस्य थप भएको तरुण दललाई चुस्त एवं सक्रिय बनाई अघि बढ्न अध्यक्ष गुरुङलाई आग्रह पनि गरे।