सडक मानव मुक्त ‘तुलसीपुर’

बैशाख २५, तुलसीपुर –  हाल तुलसीपुरमा सडक मानव छैनन् । यदि बाहिरबाट आए पनि तत्काल उद्धार गरेर आश्रममा पठाउने गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार हाल तुलसीपुरमा सडक मानव नरहेका जानकारी दिए ।

तुलसीपुरमा मानव सेवा आश्रममा सबै सडक मानवलाई उद्धार गरेर राख्न थालेपछि यसरी सडक मानव मुक्त भएको हो । संस्थाका शाखा प्रमुख हिरु जोशीका अनुसार वेवारिसे अवस्थामा हिँडिरहेकालाई उपचार गरेर परिवारमा पुनर्मिलन गराउने कार्य गर्दै आइरहेको बताए। उनका अनुसार अहिलेसम्म २० भन्दा बढीलाई उपचार पछि पुनःस्थापना गरिएको छ । “हामीले ल्याएर उपचार गर्छौं, खाना, वास दिन्छौँ”, उनले भने, “सञ्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म २०÷२२ जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।” पुनर्मिलन पछि स्वास्थ्यका बारेमा फलोअप पनि हुने गरेको उनको भनाइ छ ।

अहिले पनि संस्थामा ५१ जनालाई आश्रय दिइरहेको उनले बताए । तीमध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई दुई÷तीन वर्षसम्म पनि सञ्चो नहुने अवस्था आउने गरेकोसमेत प्रमुख अधिकारीले बताए । वडा कार्यालय, प्रहरीलगायतले पनि अहिले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेको उहाँले बताउनुभयो । उक्त संस्था तुलसीपुरमा गएको वर्ष मङ्सिरमा स्थापना भएको हो ।

अहिले सरकरले १५ प्रतिशतसम्म संस्थालाई सहुलियत दिएको भए पनि बाँकी विभिन्न सहयोगीदातामार्फत नै सहयोग सङ्कलन गरेर सेवा प्रदान गर्ने गरिएको प्रमुख जोशीको भनाइ छ । हाल तुलसीपुर शाखामा दुई जना केयर गिभर, भने एक कुक र दुई स्वयंसेवक कार्यरत रहेका छन् ।

त्यस्तै सामाजिक विकास मन्त्रालयले दुई जना नर्स सहयोग गरेको छ । आश्रमको १६ जिल्लामा २३ शाखा छन् । लुम्बिनी प्रदेशमा दाङ, बुटवल र नेपालगञ्जमा शाखा छन् ।