अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजियो – रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डाक्टर ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अडियोलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाउन लागिएको आरोप लगाउनु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावको प्रचारप्रसारमा व्यस्त छन् । यही बेला चुनावलाई प्रभावित पार्ने खोजिएको उनले दाबी गरे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी नभएको दाबी गर्नु भएको छ । उनले लेख्नु भएको छ स् ‘पैसाको लेनदेन हुनु त परेको कुरा लेनदेनको कुरा मात्रै पनि हामी सहदैनौँ । कडा भन्दा कडा कारबाही गर्छौँ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो हिजो सार्वजनिक भएको थियो ।

अडियोमा श्रेष्ठले गएको पुसमा आफूलाई स्वास्थ्य मन्त्री बन्ने अफर आएको र त्यसको लागि साढे दुई करोड रुपैयाँ चाहिएको भन्दै दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ माग्नु भएको थियो ।

यो अडियो सार्वजनिक भएपछि उहाँलाई पार्टीले तत्कालको लागि निलम्बन गरेको छ । छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन श्रेष्ठलाई निर्देशन दिइएको छ ।