उपनिर्वाचन – आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

चैत २२, काठमाडौं निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथि परेको उजुरी छानबिन गरी बुधबार अन्तिम नामावली प्रकाशन गर्दैछ।

उम्मेदवारका विरुद्धमा मङ्गलबार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको आयोगले जनाएको छ।

तनहुँ-१, चितवन -२ र बारा- २ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मङ्गलवार उजुरी दर्ताको समय तोकेको थियो। तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन -२ का उम्मेदवार रवि लामिछानेविरुद्ध ४ वटा उजुरी परेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो। उनीमाथि परेको उजुरीमाथि चितवन निर्वाचन कार्यालयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्ति पथमा पत्र पठाउँदै छ।

आयोगका अनुसार उम्मेदवारी फिर्ता लिनका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ‍। उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने छ।

त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ।

चितवन( २ मा यसअघिका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भइ पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यस्तै, बारा( २ मा जसपाबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यसैगरी, तनहुँ( १ मा नेपाली कांग्रेसबाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।