झापामा गम्भीर अवस्थाका क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै

चैत १०, काठमाडौं  – झापामा गम्भीर प्रकारका क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासले जानकारी दिए । “गत वर्ष नौ जना गम्भीर अवस्थाका क्षयरोगी फेला परेका थिए”, उहाँले भन्नुभयो, “हाल उक्त सङ्ख्या दोब्बरले बढेको छ ।”

झापामा चालु आवको फागुनसम्ममा पाँच सय ८४ नयाँ क्षयरोगी फेला परेका छन् । त्यसमा एक सय ९३ महिला र तीन सय ९१ पुरुष छन् । एघार महिला र ४० पुरुषमा क्षयरोग पुनः दोहोरिएको दासले बताउनुभयो । गत वर्ष जिल्लामा एक हजार एक सय ८६ नयाँ क्षयरोगी फेला परेका थिए ।

जिल्लामा ‘ड्रग रेसिसन्टेन’ ९औषधिले काम नगर्ने० रोगीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताए । “गम्भीर प्रकारका रोगीको सङ्ख्या बढिरहेको छ”, उनले भने, “रोगीको खोजीकार्य पनि बढाउनुपर्ने देखिन्छ ।”

फेला परेका रोगीको सङ्ख्याका आधारमा औषधि आउने भएकाले पनि केही समस्या भएको उनको भनाइ छ । “औषधि ठिक्क पुग्ने गरी आउँछ”, उनले भने, “पहिला केही बढी आउँथ्यो, कोही नयाँ थपिँदा पनि औषधि वितरणमा सहज थियो ।”

प्रादेशिक अस्पताल भद्रपुरमा गम्भीर प्रकारका क्षयरोगीको समेत उपचार हुने गरी डिआर सेन्टर सञ्चालनमा आउने भएको छ । यसअघि त्यस्ता रोगीले विराटनगर जानुपर्ने बाध्यता थियो । प्रादेशिक अस्पतालमा डिआर सेन्टर सञ्चालनमा आउने भएपछि त्यस्तो बाध्यता हट्ने भएको हो । सेन्टर सञ्चालनका लागि स्वास्थ्य निर्देशनालयबाट प्राप्त आवश्यक उपकरण आजै हस्तान्तरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

उता क्षयरोग दिवसका अवसमा आज स्वास्थ्य कार्यालयले क्षयरोगीलाई अन्डा र चना वितरणसमेत गरेको छ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नाराका साथ आज झापामा विविध कार्यक्रमका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ ।