नेपालमा पर्यटन नीति नै छैन मन्त्री – किराती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन नीति नै नभएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको स्विकार गरेका हुन् । उनले अवको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा समेत गरे । रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्ने उनको भनाई थियो ।

उनले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भएपनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताए । मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धी अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि उनले जोड दिए ।

मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भएपनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्था पुगेको बताए । उनले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहो(याए ।