विक्रम कालिकोटेको ‘कुटुमा कुटु’ सार्वजनिक (भिडियो)

 

फागुन १७, काठमाडौं – गायक तथा संगीतकार विक्रम कालिकोटेको नयाँ गीत ‘कुटुमा कुटु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कालिकोटेकै स्वर तथा संगीत रहेको यो गीतका शब्दहरु किरण माइकल रचना गरेका हुन् ।

पप–आधुनिक फ्लेवरको गीतमा रुचि राख्ने संगीतकर्मी विक्रम कालिकोटेले यसअघि पाँच दर्जन बढी गीतमा स्वर दिएका छन् भने सयौँको सङ्ख्यामा सङ्गीत भरेका छन् ।

सार्वजनिक गीतको बारेमा बोल्दै विक्रमले सांगीतिक रुपमा रोमान्टिक तथा शब्दका दृष्टिकोणले भावुक भएको बताएका छन् । उनी भन्छन्– ‘यो गीतले युवापुस्तामाझ प्रेमको सन्देश छोड्छ । प्रेममा हुने सानातिना गल्तीहरुलाई लिएर समस्या उत्पन्न गर्नु हुँदैन भन्ने भाव बोकेको छ।’

कालिकोटेले आफूले कुनै पनि गीत सुपरहिट नै हुनुपर्छ भन्ने उद्देश्य नराख्ने बताउँदै आफुलाई दर्शक–श्रोताले मनदेखि सुनुन् भन्ने इच्छा रहेको जनाए ।

गीतको भिडियोलाई गायक आफैँले निर्देशन गरेका छन् भने उनी आफैँले मोडल बिना राउतको जोडी बनेर अभिनय पनि गरेका छन् । भिडियोलाई दिनेश पराजुलीले छायांकन तथा संजय अधिकारीले सम्पादन गरेका छन् ।