मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

फागुन १६, काठमाडौं – नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार चौथो जित हात पारेको छ । मंगलबार यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा भएको खेलमा मलेसियामाथि १० विकेटको सानदार जित निकालेको हो ।

मलेसियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा विना विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि ओपनर दीपक बोहराले सर्वाधिक ३७ रन जोडे भने अर्का ओपनर अर्जुन कुमालले २१ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५।३ ओभरमा ७२ रनमा अलआउट भएको थियो । मलेसियाका लागि अक्रम मालेकले २६ रन जोड्दा हाइरिल हरिसन र मोहमद साहिरले १२र१२ रन जोडे। नेपालको घातक बलिङमा अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।

बलिङतर्फ नेपालका दिपेश कडेँलले एक्लैले ४ विकेट लिए। उनले १० ओभरमा मात्र ११ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिएका हुन् । त्यस्तै, आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहराले २ विकेट तथा सुवास भण्डारीले १ विकेट लिए।

योसँगै नेपालले जारी छनोट प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो । साथै तेस्रो खेलमा ङकङमाथि ९ विकेटको सानदार जित हात पारेको थियो । ६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ। नेपालले अब निर्णायक मानिएको युएईसँगको खेल बिहीबार खेल्नेछ ।