आज ४१ औँ मगर दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

फागुन १५, काठमाडौं – नेपाल मगर संघ स्थापना तथा मगर एकता दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो। २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले यो दिन मगर एकता दिवस मनाउँदै आएका छन्।

स्थापना दिवसको अवसरमा मगर समुदायका सांस्कृतिक, राजनैतिक अधिकारका विषयमा विभिन्न कार्यक्रम आयोजना तथा परम्परागत भेषा(भूषासहितको र्‍याली, सोरठी, कौडा, सालैजो र घाटु नाच प्रदर्शनसहित मनाउने नेपाल मगर संघले जनाएको छ।

दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाले सार्वजनिक बिदा समेत दिएका छन्। गुल्मी जिल्लाका चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। यस्तै, तनहुँको म्याग्दे गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिका, बाग्लुङको निसीखोलामा पनि सार्वजानिक बिदा दिइएको छ।

नवलपरासी पूर्वका आठवटै पालिकाले पनि सार्वजनिक बिदा दिएका छन्। यसैगरी, पाल्पाका दश वटै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। पाल्पाका दुई नगरपालिकासहित दश स्थानीय तहले स्थानीय बिदाको घोषणा गरेका हुन्।