प्रचण्ड र ओलीबीच निर्णायक वार्ता आज

फागुन १२, काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार निर्णायक वार्ता हुँदैछ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा टुंगो लगाउन ‘प्रचण्ड’ले शुक्रबार पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फेरि वार्ता गर्न लागेका हुन्।
बिहीबारको तीन दलको बैठकपछि प्रचण्डले शुक्रबार ओलीसँग वार्ता गर्न लागेको बताएका थिए।

‘छलफल चलिरहेको छ। सबैको सबैसँग छलफल चलेको छ। केही टुंगो भएको छैन’, उनले भने, ‘भोलि ९शुक्रबार० केपी ओलीसँग मेरो छलफल छ।’ दुई पार्टीका शीर्ष नेताको छलफलको समय भने तय भएको छैन।

अहिले चुनावअघिको गठबन्धनमा आवद्ध चार राजनीतिक दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक जारी छ। बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल भइरहेको छ।

बिहीबार साँझ सिंहदरबारमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी र जनता समाजवादीसँगको बैठक बसेको थियो।

तीन दलको बैठकमा राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाममा अनौपचारिक सहमति भएको बताइएको छ।
फागुन २५ हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ।