वडा कार्यलयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने

 

माघ १५, काठमाडौं – काठमाडौँ महानगरपालिकाले आजदेखि नौवटा वडा कार्यलयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्ने भएको छ ।

महानगरपालिकाले आजदेखि पहिलो चरणमा २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको हो । सुरुमा नौ र क्रमशः ३२ सै वडाबाट उक्त सुविधा उपलब्ध गराउन कामपाले राष्ट्रिय पञ्जिकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको प्रवक्ता नवीन मानन्धरले बताए । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमानै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको हो ।

यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो । नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्नु, जैविक पहिचानलाई एकीकृत गर्नु राष्ट्रिय परिचयपत्र बनाउनुको अवधारणा हो ।

सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानीजस्ता सेवा यससँग आबद्ध हुने भएकाले सेवा वितरण र व्यवस्थापनमा यसबाट सहज हुन्छ । विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाण पत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ ।

नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइ दर्ताको प्रमाणपत्र सक्कलप्रति लैजानुपर्छ । नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले उक्त परिचयपत्र लिने सक्ने व्यवस्था छ ।