केन्द्रिय संघबाट सहकारीको सुशासन आवश्यक छ – सचिव रेग्मी

पुष २६, काठमाडौ – सबल संघ निर्माणमा अध्यक्षको भूमिका विषयक राष्ट्रिय गोष्ठी काठमाण्डौमा सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको गोष्ठीमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले प्रारम्भिक संस्थाबाट भन्दा पनि केन्द्रिय संघहरूबाटै सुशासनको थालनी गर्नुपर्ने उल्लेख गरे । उनले भने ‘प्रारम्भिक संस्थामा मात्रै सुधार खोजेर सुशासन आउँदैन, यसका लागि केन्द्रिय संघहरूबाट शुरूवात गर्नुपर्छ ।’ सबल अर्थतन्त्रको निर्माणमा सहकारीको भूमिका र सम्भावना ठूलो रहेको छ उनले भने ।

विशेषतः संघहरू प्रारम्भिक संस्थाहरूको हितरक्षक भएकाले सहकारी मुल्यमान्यता अनुसार प्रवर्धन गरी देश विकासमा लगाउन, सरकारको रचनात्मक साझेदार बन्न र वित्तीय परिचालनमा अनुशासन कायम गराउन सक्रिय हुनुपर्ने उनले औंल्याए ।

सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारीहरूलाइ समस्याग्रस्त हुन नदिन जागरणको कार्यक्रम सञ्चालन गर्दै आएको बताए । महासंघका सल्लाहकार कमल चौलागाइँले महासंघले मुलुकको सहकारी अभियानलाइ सिद्धान्तअनुरूप अगाडि बढाउन र अहिलेको वित्तीय संकटबाट छुटकारा दिलाउन भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले स्थानीय तहका जनप्रतिनिधि र सहकारी अधिकृतलाइ सहकारी मुल्यमान्यता र पद्धतिका बारेमा सिकाइ काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति एवं महासंघका अध्यक्ष मीनराज कँडेलले संघहरू बलियो भएमात्र प्रारम्भिक संस्थाहरू सबल बनाउन सकिने हुँदा संघका अध्यक्षहरूलाइ लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको बताए ।