‘जनताको पहुँचबाट टाढा हुनेछैन’- कोमल वली

कात्तिक २८, काठमाडौं – नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वली पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएकी छिन् । यसअघि राष्ट्रियसभा सदस्य भएकी वली गायिका तथा सञ्चारकर्मी पनि हुन् । उनले लामो समय गायन र रेडियो नेपालमा समाचार वाचनको काम गरिन् । निर्वाचनलाई उत्सवको रुपमा मनाइरहेको बताउने वलीसँग गरिएको कुराकानी

अहिले निर्वाचन प्रचारका क्रममा गाउँगाउँ पुगिरहनुभएको छ । नेतासँग जनताका के कस्ता अपेक्षाहरु हुँदा रैछन् र?तपाईंहरुलाई जनताले निरन्तर सोधिरहने प्रश्न के छन् ?

जनताका सामान्य कुराका अपेक्षाहरु छन् । नेताहरुले गरेका सानातिना कुराले पनि जनतालाई खुशी मिल्ने गरेको मैले पाएँ । आफूले चुनेर पठाएका जनप्रतिनिधिहरु फर्केर नआएको गुनासो छन् । तपाईंहरु पनि त्यस्तै त होला, फेरि फर्केर त आउनुहुन्न होला । तपाईंहरुलाई हामी भेट्न सक्दैनौं होला, फोन उठ्दैन होला । हाम्रा समस्या सुनिदिनुहोला भन्नुहुन्छ । जनताले नेताहरुको सामिप्यता खोजिरहेको पाएँ ।

तपाईंले जनताका त्यस्ता गुनासालाई के कसरी सम्बोधन गर्ने गर्नुभएको छ ?

म गाउँघरमै हुर्केकी चेली हुँ । म जनतासँगै रमाइरहेकी छु । मलाई तपाईंहरुले आफ्नो छेउमै पाउनुहुनेछ । म भेट्नै गाह्रो हुने खालको मान्छे होइन । यसअघि पनि गीतसंगीत र सञ्चारकर्मबाट म जनताकै साथमा थिएँ । गाउँघरका सुखदुःखका कुरालाई मैले रेडियो नेपालबाट बजाएँ, गीतका माध्यमबाट पोखे । आफ्नो कला र गलाबाट पनि म जनतामाझ सधैं पुगिरहेकै छु । नेता भएर पनि जनताकै साथमा रहेर काम गरिरहेकी छु । अब पनि म जनताको पहुँचबाट टाढा हुनेछैन भनेर सम्झाउने गरेकी छु ।

अहिलेको निर्वाचनमा तपाईंले के कस्ता मुद्दाहरु उठाउनुभएको छ ?

मेरो मुख्य भूमिका देशमा के कस्तो नीति चाहिन्छ भन्नेमा नै हुन्छ । नीति निर्माण गर्ने ठाउँमा मैले जनताका आवाजलाई समेट्ने काम गर्छु । त्यसका साथै यहाँको विकासका लागि मैले दुईवटा कुरा परिवर्तन गर्छु भनेको छु । पहिलो मान्छे र दोस्रो ठाउँ । मान्छेको विकास नभई समाज अघि बढ्न सक्दैन । त्यसका लागि शिक्षा, स्वास्थ्य लगायतका जनताका आधारभूत अधिकारहरु पूरा गर्न म लाग्छु । पश्चिम दाङ विकासका हिसाबले पछि परेको छ । यहाँको विकासका लागि मैले धेरै कामको सुरुवात पनि गरेको छु । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने मैले अठोट गरेकी छु ।

दोस्रो कुरा ठाउँको विकास हो । यसका लागि पूर्वाधारको विकास गर्न मैले भूमिका खेल्ने छु । मैले टरिगाउँ विमानस्थालको विस्तार, सडक, खानेपानी, सिँचाई र पुललाई प्राथमिकता दिएको छु । धेरै ठाउँमा धुलो उड्ने बाटो छ, यसलाई कालोपत्रे गरिदिनुपर्‍यो भन्ने माग छ । तुलसीपुर–सुर्खेत सडक, कृषि सडक, दामोदर सडक, बबई–गंगटे–कोहलपुर सडक लगाएत बिभिन्न गाउँहरुमा जाने सडकहरु निर्माण तथा स्तरोन्नती गर्नुपर्ने छ । लिफ्ट सिँचाईको पनि माग छ । धेरै खोलाहरुमा पुल बन्न बाँकी छ । जनताको मलबीउ पाइएन भन्ने गुनासो छ । मैले यीमध्ये आफूले गर्नसक्ने कामहरुको मात्र प्रतिबद्धता गरेको छु । झुटा आश्वासन दिएको छैन । वडा, स्थानीय तह, प्रदेश र संघ सरकारले गर्नसक्ने कामहरुको बारेमा बुझाएर आफूले गर्नसक्ने कामहरुबारे स्पष्ट पारेको छु । जनताले आफ्नो जीवन सुधार्न आवश्यक पर्ने सानासाना कुराहरुको माग गर्नुभएको छ । मैले ती कुरा पूरा गर्न भूमिका खेल्ने प्रतिबद्धता गरेको छु । धेरै ठूला र गर्न नसकिने कामहरुको आश्वासन दिएको छैन ।

जनताका अपेक्षा पूरा गर्न एउटा सांसद्का हैसियतमा सम्भव हुँदो रैछ त ? तपाईंको अनुभवले के भन्छ ?

राष्ट्रिय सभा सदस्य हुँदा केही कामहरु गरेकी छु । त्यहाँ माननीयज्यूलाई यती पुल, सडक, सिँचाई भनेर बण्डा लगाइन्थ्यो । मैले माग गरे अनुसार धेरै पाएकी पनि छु र ती योजनाहरुमा अहिले काम भैरहेको छ । अब प्रतिनिधिसभामा गएपछि अलि धेरै कामहरु गर्न सकिन्छ भन्ने लागेको छ । त्यहाँ स्रोतसाधन र पहुँचका हिसाबले धेरै सहज हुन्छ । राजनीतिक रुपमा मेरो केन्द्रसम्म राम्रो पहुँच पनि छ । मैले निरन्तर पहलकदमी गरेर यस क्षेत्रका मुख्यमुख्य समस्या समाधानमा भूमिका खेल्न सक्छु भन्ने बिश्वास छ ।

सत्ता गठबन्धनका तर्फबाट संसदीय निर्वाचनमा लामो समय प्रतिस्पर्धा गरेका अनुभवी उम्मेदवार छन् । अन्य पार्टीका उम्मेदवार बीच पनि तीव्र प्रतिस्पर्धा छ भनिरहेका छन् । तपाईंका जित्ने आधारहरु के छन् ?

निर्वाचनमा प्रतिस्पर्धा त सबैसँग हुन्छ नै तर मलाई जनतामा बिश्वास छ । सत्ता गठबन्धनलाई जनताले मन पराएका छैनन् । म गीतसंगीत, पत्रकारिता, खेलकूद जस्ता क्षेत्रमा अनुभव गरिसकेर आएको छु । मैले आजसम्म जनताको पक्षका काम गर्दै आएको छु । जनतामाझ परिचित छु । म महिला सशक्तिकरणका लागि पनि लड्दै आएकी छु । म यस क्षेत्रमा निर्वाचन लड्न थालेको नयाँ उम्मेदवार पनि हुँ । सत्ता गठबन्धनका उम्मेदवार लामो समय परिक्षण भैसक्नुभएका व्यक्ति हुनुहुन्छ । त्यसकारण मैले काम गर्ने अवसर पाउँछु भन्ने विश्वास छ ।

मेरो व्यक्तित्व र जनपरिचित नाम पनि मेरा लागि सहयोगी छ । अर्कोतिर एमाले पार्टी अहिले एकढिक्का छ । हाम्रो मत एकठाउँमा छ, मेरो जनसम्बन्धका कारण अन्य जनताको मत पनि मैले पाउँछु । साथै मेरो यस क्षेत्रमा प्रदेशसभामा प्रतिस्पर्धा गरिरहेका एमालेका उम्मेदवारहरु घनश्याम पाण्डे र हुकुम बस्नेत पनि मेरो लागि बलियो पक्ष हुन् । अनुभवी र परिपक्व नेताहरु प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहँदा मलाई मत बढाउन सहज हुन्छ ।

महिला उम्मेदवार हँदाका अवसर र चुनौतीहरु के कस्ता छन् ?

महिला भएका हिसाबले केही अप्ठ्याराहरु पनि छन् । प्रतिस्पर्धीहरुले महिलाले के गर्न सक्छ र रु गीतसंगीतबाट आएकाले के गर्न सक्छ र रु भनिरहेका पनि छन् । समाजमा केही परम्परागत सोचाईहरु पनि छन् । महिलालाई कमजोर नै ठान्ने प्रवृत्ती छन् तर मैले यसलाई केही अप्ठेरो मानेको छैन । म महिला, पुरुष सबैसँग मिलेर रातदिन हिँडिरहेको छु । म यसमा रमाइरहेकी छु । ठूलै समस्या केही परेको छैन । बरु महिला भएका कारण महिला दिदीबहिनीहरुसँग नजिक हुन सहज भएको छ । उहाँहरुको साथ पाउन सजिलो भएको छ । पुरुष दाजुभाइहरुले पनि मेरो सक्रियता र आत्मविश्वासलाई साथ दिनुभएको छ ।

सञ्चार र कला क्षेत्रबाट राजनीतिमा आउनुभयो । नयाँ क्षेत्रमा आएर निर्वाचन लड्दा कस्तो अनुभव भैरहेको छ ?

म राजनीतिक प्राणी नै हुँ । म राजनीतिबाट टाढा थिएन । राजनीति बुझेरै यता आएकी हुँ । मेरो सानैदेखि नेता भएर हिड्ने रहर थियो । स्कुल पढ्दादेखि नै माननीय उठ्ने, हात हल्लाएर हिड्ने रहर थियो । स्कुल पढ्दा पनि नाइके भएर नेतृत्व गर्थें । मैले निर्वाचनलाई उत्सवका रुपमा मनाइरहेकी छु । जनतामाझ जाने, जनताका कुरा सुन्ने, आफ्ना विचार राख्ने, हरेक कामले मलाई आनन्द दिइरहेको छ । राजनीति मेरो अभिरुचिको बिषय हो । राष्ट्रिय सभा सदस्य हुँदा पनि मेरो पहलमा पुल, सडक, डिप बोरिङ, तटबन्ध, कुलो लगायत धेरै पूर्वाधार निर्माणका कामहरु भएका छन् । त्यसकारण म आफूलाई पूर्णकालिन र परिपक्व राजनीतिज्ञ महसुश गरिरहेकी छु । मैले कुनै नयाँ ठाउामा हात हालेको जस्तो लागेकै छैन ।

इकान्तिपुरबाट साभार गरिएको