गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैनः माधव नेपाल

 

कात्तिक १६, धनुषा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन्।

जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा आज आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरुले विद्रोह गरेको बताए। संविधान रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि पाँच दलीय गठबन्धन अवधारणा अघि सारिएको उनले बताए।

जनताले २०७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिए पनि ओलीले कुनै काम गर्न नसकेको अध्यक्ष नेपालको आरोप थियो। ‘गठबन्धन संविधानको रक्षाका लागि बनेको हो,’ उनले भने।

कार्यक्रममा रामविनोद यादवको अगुवाइमा विभिन्न व्यक्ति एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। कार्यक्रममा धनुषा–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामचन्द्र झालगायतले पनि आफ्नो धारणा राखेका थिए। रासस