घरबहाल कर महानगरले नै उठाउने

कात्तिक ३, काठमाडौं – संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ ।

विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए ।

यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । प्रमुख कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गरे ।

विराटनगर महानगरले अझैसम्म पनि सोचेजस्तो घर बहाल कर उठाउन सकेको छैन । अन्तक्र्रियामा वडाध्यक्षहरुले आफ्ना वडामा ठूल–ठूला व्यावसायिक फर्म भए पनि आफूहरुले कर सङ्कलन गर्न नसकेको बताउनुभयो । धेरै व्यवसायी करको दायराभन्दा बाहिर रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले महानगरको विकासका लागि कर सङ्कलनमा कठोर बन्नुपर्नेमा जोड दिए ।

सो अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख डा डिवी क्षेत्री र कर अधिकृत विमल पौडेलले स्थानीय तहले लिनसक्ने करका किसिम र करको सदुपयोगका विषयमा कार्यपत्र प्रस्तुत गरे।

कर सङ्कलनका लागि महानगर र आन्तरिक राजस्व कार्यालय एकअर्काका परिपूरक भएकाले आगामी दिनमा दुवै निकायबीच समन्वय गरेर अगाडि बढ्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।