सहमतिमा उम्मेदवारी दर्ता गराएका हौँ-अन्जना बिसंखे

असोज २६, काठमाडौं – सत्ता गठबन्धन दलहरुबीच सिट बाँडफाँट हुँदा काठमाडौं क्षेत्र नम्बर १० माओवादीकै पक्षमा पार्न लविङमा लागेकी थिइन् नेतृ अन्जना बिसंखे। तर माओवादी स्थायी समिति सदस्य बिसंखेको लविङले काम गरे। काठमाडौं १० कांग्रेसको भागमा परेपछि ‘१० नम्बर क्षेत्रमा गठबन्धन नचाहिने’ भन्दै उनै बिसंखेको नेतृत्वमा तीनजनाले बागी उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा सदस्यमा बिसंखे आफैँले उम्मेदवारी दिएकी छन् । उनै बिसंखेसँग गरिएकोे संक्षिप्त कुराकानी –

गठबन्धनमा काठमाडौं क्षेत्र नम्बर १० कांग्रेसलाई दिने निर्णय भइसकेपछि तपाईंहरुले किन उम्मेदवारी दिनुभएको?

हामीले ‘डे वन’ देखि नै नेतृत्वलाई काठमाडौं क्षेत्र नम्बर १० माओवादीले नै पाउनुपर्छ भन्दै आएका थियौँ। त्यो बार्गेनिङ मात्रै थिएन, गम्भीर रुपमा हामीले दाबी प्रस्तुत गरेका थियौँ। त्यो कुरा अध्यक्ष कमरेड (प्रचण्ड) लाई पनि राम्ररी थाहा थियो। उहाँले निकै कोशिस गर्नुभयो। गठबन्धनको बाध्यता सबैलाई मिलाउन सजिलो हुने कुरा भएन। उहाँको सीप नलागेपछि अन्तिममा हामीलाई भन्नु भयो– कांग्रेसीहरुले मरिगए छाडेनन्। त्यसपछि हामीले आफ्नै उम्मेदवारी दर्ता गर्ने निर्णय गर्यौं।

अनि, तपाईंको नेतृत्वमा गठबन्धनको मर्यादा नाघेर कसरी उम्मेदवारी दर्ता गराउनु भयो?

तपाईंले भनेजस्तो न यो विद्रोह हो न पार्टीप्रति गद्दारी। हामीले स्वतन्त्र उम्मेदवारी दिएका पनि होइनौँ। मैले अघि नै भनेँ हामी यसपालि गम्भीर थियौँ। यसपालि कुनै हालतमा क्षेत्र नम्बर १० बाट जितेर देखाउने तयारीसाथ संगठनमा खटिएका थियौँ। मेरो नाम माथिदेखि तलसम्मका सबै पार्टी कमिटीले सिफारिस गरेर हेडक्वार्टरमा पठाइएको थियो। तपाईंलाई आश्चर्य लाग्ला, प्रदेश, जिल्ल्ला, क्षेत्र र तीनै नगर कमिटीबाट मेरो नाम एकल सिफरिस भएकोथियो। तपाईंले अन्य कतै यस्तो उदाहरण भेट्नुभएकोछ?

त्यसैले हामीले विद्रोह गरेको नभई पूरा पूरा हेर्डक्वार्टरको सहमतिमा उम्मेदवारी दर्ता गराएका हौँ। त्यसैले तपाईंले निर्वाचन आयोगले दिएको मनोनयन पत्र हेर्नु भयो भने हामीलाई स्वतन्त्र या अन्य नभनी नेकपा माओवादीकै उम्मेदवार भनिएको छ। हँसिया हथौडा चिह्न दिइएको छ।

निर्वाचन आयोगले मंगलबार ५ बजेसम्म मनोनयन दर्ता हेरफेर गर्ने समय दिएकोछ। नेतृत्वले गठबन्धन दलहरुको दबाबमा तपाईंहरुलाई नाम फिर्ता लिन भन्यो भने?

हामीले नाम फिर्ता लिन र वार्गेनिङ गर्न उम्मेदवारी दर्ता गराएका होइनौँ। हामी यसमा प्रष्ट छौँ। अध्यक्ष कमरेडको अफ्ठ्यारो हामी बुझ्दछौँ। तर कांग्रेसले नै गठबन्धनको मर्म नबुझेकाले हामीले नाम दर्ता गराएका थियौँ। मर्यादा भत्काउने कामको प्रारम्भ हामीबाट होइन, कांग्रेसबाट भएको हो।

त्यसैले हामीले अध्यक्ष कमरेडलाई यो कुरा स्मरण गराउन र हाम्रो अडान सुनाउन भेट्दैछौँ। उहाँले यो कुरा अवश्य बुझ्नुहुनेछ भन्ने हामीलाई थाहा छ। किनकी मेरो एक्लो लहडले गरिएको निर्णय होइन। सबै तहका स्थानीय पार्टी नेतृत्वले गरेको हो।

भनेपछि निकै तयारी भइसकेको रहेछ है?

हामीले आजै मात्रै पार्टी नेता मुकुन्द घिमिरेको संयोजकत्व र युवा नेता सञ्जय लामाको सह–संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाइसक्यौँ। त्यसले आफ्नो काम थालिसक्यो। हामी चुनावी मैदानमा उत्रिसक्यौँ। अब उम्मेदवार साथीहरुसँग स्वस्थ प्रतिस्पर्धा गर्ने हो।

यसअघि अध्यक्ष प्रचण्ड स्वयम् हारेको क्षेत्रमा यसपटक पनि कांग्रेसले उहाँलाई हराउने उम्मेदवार (राजेन्द्र केसी) नै उठाएको छ। यस्तोमा माओवादी एक्लै लडेर कसरी जित्ला?

हाम्रो राम्रो संगठन भएको क्षेत्रमा पर्छ १० नम्बर। त्यसमाथि म यहीँको रैथाने हो। त्यो मतमा रुपान्तरित हुन्छ यस पटक। कांग्रेस र माओवादीको प्रतिस्पर्धी मत छ। त्यसपछि एमाले र राप्रपाको छ। यसपालि स्वतन्त्रहरुको लाइन नै छ। कांग्रेसबाट मात्रै असन्तुष्ट भएर स्वतन्त्र उठ्ने ५ जना छन्। त्यसैले यस पटक हामी आफ्नो सांगठनिक प्रतिवद्धता पूरा गराएर देखाइछाड्छौँ भन्नेमा विश्वस्त छौँ

साभार नेपाल खवर