अस्ट्रेलियामा इंग्ल्यान्डको विजयी सुरुवात

असोज २४, एजेन्सी- अस्ट्रेलिया भ्रमणमा रहेको इंग्ल्यान्डले तीन खेलको टी–२० सिरिजमा विजयी सुरुवात गरेको छ। पर्थमा भएको पहिलो खेलमा घरेलु टोली अस्ट्रेलियामाथि ८ रनको रोमाञ्चक जित निकाल्दै इंग्ल्यान्डले सिरिजमा १–० को अग्रता बनायो।

टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो। कप्तान जोस बटलर र एलेक्स हेल्सले पहिलो विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले उच्च स्कोर तयार गर्‍यो।

बटलरले ३२ बलमा ६८ रन बनाउँदा हेल्सले ५१ बलमा ८४ रन बनाएका थिए। त्यस्तै ह्यारि ब्रुक्सले १२ रन बनाउँदा मोइन अलीले १० तथा क्रिस वक्सले १३ रन बनाएका थिए। अस्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिएका थिए।

२ सय ९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०० रनमा समेटिएको थियो।

अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ४४ बलमा ७३ रनको इनिङ खेलेका थए। त्यस्तै मिचेल मार्सले ३६ रन बनाउँदा मार्कुस स्टोइनिसले ३५ रन बनाए। म्याथ्यु वेडले २१ रन बनाएका थिए।

इंग्ल्यान्डका लागि मार्क वुडले ३ विकेट लिंदा साम कुरान र रिसी टोप्लीले समान २–२ विकेट लिएका थिए।