बनेपामा रगत प्रशोधन केन्द्र

असोज ९ ,काठमाडौँ – काभ्रेपलाञ्चोकका बिरामीले अब सबै रगत समूहअनुसार प्रशोधन गरेर बनाइएका रगत स्थानीयस्तरमा पाउने भएका छ् । उनीहरुलाई विभिन्न प्रकारका रगतको खोजीका लागि काठमाडौँ, ललितपुर र भक्तपुरसम्म धाउनु नपर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रबाट नै रगत प्रशोधन गरी विभिन्न प्रकारका रगत उपलब्ध हुनेभएपछि अब यहाँका बासिन्दाले नजिकैबाट नै सेवा पाउने भएका हुन् । रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकको समन्वयमा डेनिस रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा करिब ३० लाख बराबरको मेसिन उपलब्ध भएपछि रगत प्रशोधनको काम सुरु भएको केन्द्रले जनाएको हो ।

“यसअघि रगतको सेतो र रातो सेल लिनको लागि काठमाडौँसम्म जानुपर्ने अवस्था थियो, अब यही तयार भएको छ ।” रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका स्टोर इञ्चार्ज गोकुल बजगाईंले भने, “काभ्रेमा नै अब सबै किसिमका रगत उपलब्ध गराएर बिरामीलाई सहज रुपमा उपचार गर्न गाउने व्यवस्था गर्दैछाँैं ।”

धुलिखेल र शिर मेमोरियल अस्पतालमा उपचार हुने बिरामीको आफन्तले रगतको खोजी गर्दै आउने गरेकामा भनेजस्तो प्रशोधित रगत नपाउने भएपछि काठमाडौँ जानुपर्ने बाध्यात्मक अवस्था थियो । रगत प्रशोधन गर्ने मेसिन बनेपामा रहेको रक्तसञ्चार केन्द्रमा नै उपलब्ध भएपछि अब त्यो अभावको पूर्ति बनेपाबाट हुने भएको हो ।

राष्ट्रिय परीक्षण केन्द्रको मापदण्ड अनुसारको गुणस्तर गरीक्षण भएको शुद्ध रगत उपलब्ध हुने स्टोर इञ्चार्ज बजगाईंले बताए । विभिन्न प्रकारका रगतको प्रशोधन गर्न मेसिन उपलब्ध भएर प्रयोगमा आएको कारण अब वार्षिक क्यालेन्डर नै तयार गरी जुनसुकै समूहका रगत तथा त्यसबाट प्रशोधित रगतसमेत अभाव नहुने गरी उपलब्ध गराउने तयारीमा जुटेको उनले बताए ।

बनेपाको रक्तसञ्चार केन्द्रबाट यसअघि सङ्कलन हुने गरेको रगत होल ब्लडको फर्ममा सङ्कलन हुँदै आएकोमा अब त्यसलाई विभिन्न प्रोडक्ट बनाउन सकिने गरी काम थालनी भएको केन्द्रिय रक्तसञ्चार काठमाडौँका वरिष्ठ प्राविधिक अधिकृत सञ्जीवकुमार यादवले बताए ।

“काठमाडौँ र भक्तपुरमा उपलब्ध हुने सबै खाले रगतका उत्पादन यहीँबाट पाउनेछ ।” उनले भने, “त्यसको लागि आवश्यक पर्ने प्रविधिको मेसिन जोहो गरिसकेको हुनाले अब यहाँका बासिन्दा विभिन्न खाले रगतको खोजीका लागि टाढा धाउन पर्ने अवस्थाको अन्त्य भएको छ ।”