थपिए सिन्धुलीमा मतदाता

असोज ९, सिन्धुली  – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी मङ्सिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत साउन २० देखि मतदाता नामावली सङ्कलन स्थगन गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगन भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य असार १ देखि सुरु भएको थियो । सोही अवधिमा उक्त मतदाता थपिएका हुन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम रहेका मतदातामा पाँच सय ६६ महिला र एक हजार चार सय ६८ पुरुष मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिए ।

यससँगै जिल्लामा कुल मतदाता सङ्ख्या दुई लाख आठ हजार तीन सय ६९ पुगेको छ । स्थानीय तह निर्वाचनमा कुल मतदाताको सङ्ख्या दुई लाख छ हजार तीन सय ३६ थियो । निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएको उनले बताए

कार्यालय प्रमुख झाका अनुसार गत असार १ देखि साउन १९ सम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानमा बाहिरी जिल्लाबाट आएका र स्थायी बासिन्दा गरी चार हजार दुई सय ३३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न निर्वाचन कार्यालयले सबैलाई आग्रह गरेको थियो ।