पाठेघर शिविरबाट एक सय महिलाको स्वास्थ्य परीक्षण

भदौ २३ ,काठमाडौँ – तातोपानि गाउँपालिकाले सञ्चालन गरेको पालिकाभित्रका महिलाहरूको पाठेघर शिविरबाट एक सय सात महिलाले स्वास्थ्य परीक्षण गरेका छन् ।

सो गाउँपालिकामा रहेको लिताकोट स्वास्थ्यचौकीमा पाठेघरसम्बन्धी शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष चन्दराम चौलागाईँले बताए। सर्वेदय नेपालको आयोजना, इटालियन फाउण्डेशन एफआरएल फेमि फाउण्डेशनको सहयोगमा शिविर सञ्चालन गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा रमिता चौलागाईँ नेतृत्वको टिमले पाठेघरको जाँच गरेको अध्यक्ष चौलागाईँले जानकारी दिए ।

उनले भने, “शिविरमा स्वास्थ्यकर्मी हिमाली खत्री, लक्ष्मी खत्री र साङ्मु तामाङसहितको टोलीले महिलाको पाठेघरको जाँच गरी आवश्यक औषधि र स्वास्थ्य सुझाव दिएका छन्, पाठेघरको जाँच गराउन आएका अधिकांश महिलाको सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, रगत बग्ने र ढाड दुख्नेलगायतका समस्या देखापरेको छ ।”

सर्वेदय नेपालका निर्देशक कमलराज खत्रीले महिलाको प्रजनन स्वास्थ्यको अवस्था पहिचान गरी उपचारमा सहयोग गर्ने लक्ष्य राखी शिविर सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार महिलाको पाठेघरमा विभिन्न समस्या भएकाले गाउँमै पुगेर सेवा दिन खोजिएको हो ।