कांग्रेस नेता प्रदीप गिरिको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

भदौं ५, काठमाडौं –  नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा गएराति साढे ९ बजे उनको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पङ्कजकुमार बर्मनले जानकारी दिए।

प्रतिनिधि सभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए ।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गएको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए । उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धाञ्जलीका लागि राखिनेछ ।