धनगढीमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

साउन ३०, काठमाडौ – धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८/८९ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयले रु पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु तीन अर्ब ९४ करोड ९९ लाख ७२ हजार मात्रै सङ्कलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा ३२ प्रतिशतले कम हो ।

कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार कूल राजस्वका शीर्षकमध्ये गत आर्थिक वर्षमा आयकर र स्वास्थ सेवा कर भने लक्ष्यभन्दा बढी सङ्कलन भएको छ । आयकरतर्फ रु एक अर्ब ३६ करोड ६७ लाख ६० हजार उठाउने लक्ष्य लिइएकामा रु एक अर्ब ४० करोड, ९२ लाख चार हजार सङ्कलन भएको छ । स्वास्थ्य सेवा करतर्फ रु पाँच करोड ८९ लाख ७० हजार उठाउने लक्ष्य लिइएकामा लक्ष्यभन्दा झण्डै ५९ प्रतिशत बढी अर्थात रु नौ करोड ३७ लाख छ हजार सङ्कलन भएको छ ।

घर बहाल करतर्फ रु चार करोड ३७ लाख ३४ हजार सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु दुई करोड ७७ लाख २६ हजार सङ्कलन भएको छ । ब्याज करतर्फ रु चार करोड ९७ लाख ९१ हजार सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु दुई करोड ३७ लाख २२ हजार सङ्कलन भएको सूचना अधिकारी पौडेलले बताउनुभयो । मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ४१ करोड ४९ लाख ४३ हजार सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु ९६ करोड ४८ लाख ५९ हजार सङ्कलन भएको छ । अन्तशुल्क करतर्फ रु दुई अर्ब ८४ करोड ७० लाख ७९ हजार सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु एक अर्र्ब ४३ करोड सात लाख ४१ हजार सङ्कलन गरिएको छ । जुन लक्ष्यभन्दा ५० प्रतिशत कम हो ।

कार्यालयले शिक्षा सेवा शुल्कको गत आर्थिक वर्षमा लक्ष्य निर्धारण नगरे पनि रु १३ हजार सङ्कलन भएको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा भने लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा रु चार अर्ब ५० करोड १० लाख ५४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकामा रु पाँच अर्ब ५३ करोड ६ लाख ३० हजार १२३।५४ प्रतिशत राजस्व सङ्कलन भएको थियो । सूचना अधिकृत पौडेलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन हुनाको मुख्य कारण कर्मचारी अभावसँगै कोरोनाको असर रहेको जनाउनुभयो । चालु आर्थिक वर्षमा भने लक्ष्य अनुसारको कर उठाउने तयारीका साथ काम गरिरहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले रु चार अर्ब ७६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।