इन्डोनेसियामा कोरोना विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

साउन १३, काठमाडौँ – इन्डोनेसियामा शुक्रबारदेखि कोरोना भाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गरिएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मीहरूलाई चौथो मात्राको खोप लगाउन थालिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्यकर्मीहरूलाई लगाएपछि अरुलाई लगाउने गरी तयारी भइरहेको पनि उनीहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा सुरुमा १९ लाख स्वास्थ्यकर्मीहरूलाई खोप लगाइने उल्लेख गरिएको छ ।

पछिल्लो समय इन्डोनेसियाका कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकाले चौथो मात्राको खोप लगाउनु परेको मन्त्रालयको भनाई छ ।

सङ्क्रमितहरूको बढेपछि स्वास्थ्यकर्मीहरू उच्च जोखिममा रहेकोले सुरुमा उनीहरूलाई खोप लगाइने भएको अधिकारीहरूले जनाएका छन् ।

बिहीबार सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो एक दिनमा इन्डोनेसियामा छ हजार ३५३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएका छन् भने अरु १७ जनाको मृत्यु भएको छ । रासस/सिन्ह्वा