ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

साउन १२, काठमाडौ – अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए।५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन ।

उनले भनेका छन– अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।

बुधबार उनले सो आग्रह गरेका हुन। उनले यसबाट आफू पनि सङ्क्रमित हुन पुगेको पनि बताएका छन ।राष्ट्रपति बाइडेनले भन्नुभयो– यो ‘बिए।५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो यो सङ्क्रमणबाट सङ्क्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो सङ्क्रमण फैलिएको छ ।

आफूलाई सो नयाँ भेरियन्टबाट सङ्क्रमण भएको बताउनुभएका राष्ट्रपति बाइडेनले आफू आइसोलेसनबाट बाहिर निस्किनु अघि ह्वाइट हाउसबाट बुधबार सो कुरा बताएका हुन ।

यसबाट बच्नका लागि जनस्वस्थ्यका मापदण्डहरु अपनाउन पनि उनले सबैलाई आग्रह गरे । उनले सबै अमेरिकी नागरिकहरुलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन पनि आग्रह गरेका छन ।

अमेरिकी राष्ट्रपति बाइडेन ७९ वर्षका छन। उनलाई गत हप्ता मात्र यो नयाँ भेरियन्टको सङ्क्रमण देखिएको बताइएको थियो । उनले आफूलाई सामान्य लक्षण मात्र देखिएको बताएका थिए । उनी एकहप्ता पछि बुधबार मात्र आइसोलेसनबाट निस्किएका हुन ।

कोभिड १९ सङ्क्रमणले सबैभन्दा बढी असर पारेको अमेरिकामा पछिल्लो समयमा यसको सङ्क्रमण थप फैलिएको बताइएको छ । त्यसैले अमेरिकी अधिकारीहरुले सबैलाई थप सतर्कता अपनाउन सूचना जारी गरिरहेका छन् ।