टीकापुर किसानका दुख ‘मल पनि छैन सिँचाइ पनि छैन ’

जेठ ३०, टिकापुर –  मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् । धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन् ।

अहिले उनीहरु दैनिक रुपमा जानकी गाउँपालिका–३ मालझुलस्थित रानी कुलाको बाँध लगाउन व्यस्त छन् । यसका लागि झाला पाता, नर्कट, माटो, ढुङ्गा, प्रयोग गरिरहेका छन् । यसरी बाँध बाध्न आवश्यक झालापातालगायतका सामान किसानले घरघरबाट बोकेर लगेका हुन् । ‘किसानले डनलप, ट्र्याक्टर, साइकलमा घरघरबाट झाला पाता, नर्कट बोकेर लगेका हौं ’रानी कुलाका अध्यक्ष श्रीपाल चौधरीले भने ‘खेती गर्ने समयमा पानीको जोहो पनि किसान आफैँले गर्नु परिरहेको छ । एकातिर किसानलाई मल नपाएर समस्या छ, अर्कोतर्फ खेती गर्ने समयसम्म सिँचाइ सुविधा पुगेको छैन ।’

रानी कुलाको महुनमा भएको बाँध रानीजमरा कुलरिया सिँचाइ आयोजनामार्फत निर्माण भइरहेका तटबन्धभ निर्माण गर्दा ठेकेदारले भत्काइदिएको किसानको गुनासो छ । ठेकेदारले बाँध निर्माण गरिदिने भने पनि अहिलेसम्म निर्माण नगरिदिएपछि असार लाग्नै थाल्दा ५२ गाउँका किसान आफैँ मुहानमा पुगेका हुन् । ‘आवश्यक सामान जोहो पनि हामी आफँैले गरेका छौँ, हरेक घरबाट एक÷एक जना किसान श्रमदानमा जुटेका छौ ’ उनले भने ‘प्रति उपभोक्ता रु १५ उठाएका छौँ, आइतबार श्रमदान ग¥यौँ, झालापाता बाध्ने काम ग¥यौँ, आज स्काभेटरले ग्राभेल उठाएर झाला दवाउने काम गर्ने तयारी छ ।’

कैलालीमा सिँचाइ सुविधाका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनमा छ । आयोजनाले सिँचाइ सुविधाका लागि गाउँ गाउँमा नहर निर्माण, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण जस्ता कार्य गर्दै आएको छ । आयोजनाले शाखा, प्रशाखा कुला व्यवस्थापनमा सघाउने काम गरिरहे पनि निर्माण कम्पनीले भत्काएका संरचना समयमै मर्मत नहुँदा किसानले खेती गर्ने समयमा दुःख पाउने गरेका छन् ।