कास्कीका जनप्रतिनिधि निजी क्षेत्रसँगको सहकार्यमा जोड

जेठ २६, काठमाडौं – कास्कीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा पालिकामा समृद्धि र विकासका काम अघि बढाउने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधबार आयोजित नवनिर्वाचित जनप्रतिनिधिको सम्मान एवं अन्तरक्रियामा वक्ताहरूले निजी क्षेत्रसँगको सहकार्यका माध्यमबाट अघि बढ्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने बताए । नवनिर्वाचित जनप्रतिनिधिलाई निजी क्षेत्रका एजेण्डाबारे जानकारी गराउने, सहकार्य र सम्भावनाका क्षेत्र पहिचान गर्ने उद्देश्यले सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सङ्घका अध्यक्ष नारायण कोइरालाले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, माछापुच्छे« गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी तथा पोखराका वडाध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

प्रमुख आचार्यले महानगरको सबैभन्दा ठूलो चुनौती सुशासन कायम गर्नु रहेको उल्लेख गर्दै आउँदा केही दिनभित्रै महानगरले एउटै ढोकाबाट सबै सुविधा दिने उद्घोेष गर्नुभयो । उहाँले करको दर परिवर्तन गर्न आफू तयार रहेको बताए ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले कृषि र पर्यटनको माध्यमबाट समृद्धिको परिकल्पना गरेको उल्लेख गर्दै सो क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले भूमि बैंक स्थापना गरेको र त्यही बैंकमार्फत कृषि कर्म गर्न चाहने व्यवसायीलाई जग्गा उपलब्ध गराउने बताए।

पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले चक्रपथ विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले पोखरामा सम्पत्ति कर अन्य पालिकाको भन्दा महँगो भएको गुनासो गर्दै लगानीमैत्री वातावरण निर्माण तथा कृषिको व्यावसायिकरणमा लाग्न आग्रह गर्नुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले पोखरा महानगरले एउटै ढोकाबाट कर तिर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव सुरेन्द्रमान विजुक्छेलगायतले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिए ।