तनहुँका पालिका प्रमुखमा महिला शून्य, उपप्रमुखमा सात

जेठ १०, तनहुँ –  तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भइन् ।

नेपाली कांग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यसपटक नेकपा (एमाले(का उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भए । दश पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी दिएका छन् ।

पालिकाको उपप्रमुख–उपाध्यक्षमा भने सात महिला निर्वाचित भएका छन्। काङ्ग्रेस र नेकपा ९माओवादी केन्द्र०ले गठबन्धन गरेका देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा पुरुष विजयी भएका छन् ।

घिरिङ, ऋषिङ,बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा क्रमशः राधादेवी अधिकारी, गिनुमाया थापा, पञ्चमाया गुरुङ र दुर्गा अर्याल निर्वाचित भए ।

यसैगरी भिमाद, भानु र व्यासनगरपालिकाको उपप्रमुखमा क्रमशः शारदा खनाल, उमा गोतामे, इन्दिरा दरैले विजय हासिल गरेकी छन् ।

दुई महिला वडाध्यक्षमा निर्वाचित

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा दुई महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । विभिन्न पालिकाका उम्मेदवारी दिएका छ महिलामध्ये दुई जनाले मात्रै विजय हासिल गर्नुभएको हो भने चार जना भने पराजित भए ।

भानु –१ को वडाध्यक्षमा कांग्रेसबाट कान्छीमाया तामाङ निर्वाचित भएका छन् । उनले ६७२ मत प्राप्त गरी विजयी हुनुभएको हो । आँबुखैरेनी–४ मा कांग्रेसको तर्फबाट मिलन भुजेल ४३३ मत प्राप्त गरी विजयी भएका छन् ।

बन्दीपुर–४ मा सीता थापा र बन्दीपुर –५ मा रीता तिवारी कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बने पनि विजयी हुन सकिनन् । म्याग्दे–६ मा एमालेको तर्फबाट निर्मला वाग्ले वडाध्यक्षमा उम्मेदवार बने पनि उहाँ पराजित भएका छन् । शुक्लागण्डकी–८ को वडाध्यक्षमा कांग्रेसबाट चन्द्रकला भट्टराई उम्मेदवार बने पनि उनी पनि पराजित भएकी छन् ।