अब वैचारिक कामलाई सघन बनाऊ, संगठनलाई सबल र सुदृढ पारौं ।

इश्वरी रिजाल,  नेता नेकपा (एमाले)

काठमाडौ-  राजनीति तीनवटा तत्त्व मिलेर बन्छ। एक-विचार, दुई- संगठन, तीन- सेवारसंघर्ष। यी तीन तत्त्वको सम्मिलनबाट राजनीतिक दल बन्दछ ‌‌। यसमा अन्तर्निहित वैचारिक तत्त्वले राजनीतिको लक्ष्य, उदेश्य, बाटो र गन्तव्य निर्धारण गर्नुकोसाथै राजनीतिमा संलग्न व्यक्तिहरूको चरित्र, आदर्श, आचरण, शैली र अनुशासनलाई पनि निर्धारण गर्ने गर्दछ। त्यसै गरी सांगठनिक तत्त्वले वैचारिक तत्त्वद्वारा निर्धारित लक्ष्य र गन्तव्यमा पुग्नका लागि तदनुरूपको चरित्र, आचरण, आदर्श, शैली र‌ अनुशासन भ‌एका जनशक्तिहरूको निर्माण र परिचालन गर्ने गर्दछ।

ती संगठित जनशक्तिद्वारा सत्तामा रहँदा जनसेवा र सत्ताबाहिर रहंदा जन विरोधी क्रियाकलापको विरूद्ध संघर्ष सृष्टि गर्ने काम गर्दछ। यी तीन तत्त्व हाराहारीमा सन्तुलित ढंगले अगाडि बढ्दा राजनीतिक स्वार्थ सामाजिक स्वार्थमा बद्लिन पुग्छ र राजनीति सफलताको दिशामा अगाडि बढ्छ। अन्यथा राजनीतिक स्वार्थ केवल दलगत स्वार्थ हुंदै व्यक्तिगत स्वार्थमा सीमित रहन पुग्छ। तत्पश्चात् राजनीतिमा आवद्ध व्यक्तिहरूमा अनावश्यक महत्वकांक्षा पलाउन थाल्दछ र ती महत्वकांक्षाहरूले अराजकता पैदा गर्ने गर्दछ। निर्वाचनमा हुने बिजय र पराजय यसैको सेरोफेरोमा खोज्नु पर्दछ। तसर्थ अब वैचारिक कामलाई सघन बनाऊ, संगठनलाई सबल र सुदृढ पारौं, जितेको ठाउँमा अब्बल जनसेवा प्रदान गरौं, हारेको ठाउँमा प्रतिपक्षीय भूमिकाकासाथ जनताको पक्षमा जायज र न्यायोचित संघर्ष गरौं‌, तत्पश्चात् पराजय क्षणिक परिघटनामा सीमित रहन पुग्छ ।