निर्वाचनमा मकवानपुरमा १७ सय कर्मचारी खटिने

बैशाख ७, काठमाडौं  – आसन्न स्थानीय निर्वाचन २०७९ का लागि मकवानपुरमा एक हजार ७६७ कर्मचारी र एक हजार ६८ स्वयंसेवक परिचालन गरिने प्रदेश कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयका शाखा अधिकृत गोविन्दप्रसाद पौडेलले निर्वाचनको तयारीका विषयमा कुरा गर्दै राससलाई सो जानकारी दिनुभएको हो । एक मतदान केन्द्रमा मतदान अधिकृतसहित पाँच कर्मचारी र दुईदेखि तीन जनासम्म स्वयंसेवक खटिने व्यवस्था रहेकोे छ । ५०० भन्दा बढी मतदाता भएको स्थानमा कर्मचारी र स्वयंसेवकसहित आठ र ५०० भन्दा कम मतदाता रहेको स्थानमा कर्मचारीसहित सात जना स्वयंसेवक खटिने व्यवस्था भएको उनले जनाए।

मकवानपुर जिल्लामा १६५ मतदानस्थलमा ३५६ मतदान केन्द्र रहेको छ भने प्रत्येक पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने व्यवस्था रहेको अधिकृत पौडेलको भनाइ छ । एक मतदान केन्द्रमा अधिकतम एक हजार मतदाताले मतदान गर्ने व्यवस्था रहेको छ । मतदान केन्द्रमा मतदान अधिकृतसहितको कर्मचारीको खटनपटनको व्यवस्था मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछ ।

गत चैत २९ गतेदेखि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति र प्रशिक्षण भइसकेको छ । वैशाख ८ गतेदेखि जिल्लामा कार्यालय खोल्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमानगरपालिकासहित मकवानपुरमा निर्वाचनको तयारी दु्रतरुपमा भइरहेको छ । साथै निर्वाचनको माहोलसमेत बन्दै गएको पाइएको छ । विभिन्न स्थानमा निर्वाचनका विषयमा छलफल, बहस र प्रचारप्रसार भइरहेको छ । यसका लागि निर्वाचन कार्यालय मकवानपुरले स्थानीय तहको निर्वाचनका लागि ५३० पदका लागि निर्वाचनको आवश्यक तयारी गरिरहेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र आठ गाउँपालिका छ । जसअन्तर्गत प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष गरी २० र १०२ वडाका लागि वडाध्यक्ष तथा सदस्यसहित ५१० अर्थात् कूल निर्वाचन ५३० पदका लागि हुनेछ । निर्वाचन मिति घोषणा र तयारीसँगै निर्वाचनको आन्तरिक सुरक्षा योजना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जिल्लाका १६५ वटा निर्वाचनस्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार १९ अति संवेदनशील, ६० संवेदनशील र ८६ वटा सामान्य गरी तीन भागमा मतदानस्थललाई विभाजन गरिएको छ । जिल्लाको राक्सिरांग, कैलाश, बागमती र बकैया गाउँपालिकाको केही निर्वाचनस्थललाई अतिसंवेदनशीलस्थलका रुपमा राखिएको छ ।