राधाकृष्ण मन्दिरमा अक्षयकोष स्थापना

चैत्र २८, काठमाडौ- म्याग्दीको एउटा मन्दिरमा रु साढे सात लाखको अक्षयकोष स्थापना गरिएको छ । बेनी नगरपालिका–२ खबराको राधाकृष्ण मन्दिरमा रामनवमी पर्वका अवसरमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर नित्य पूजा सञ्चालनलगायत अन्य परोपकारी कार्यका लागि अक्षयकोष स्थापना गरेका हुन् । सोही अवसरमा चन्दादातालाई सम्मान गर्दै समाजसेवी भद्रबहादुर कार्कीले मन्दिरले समुदायको एकतालाई थप बलियो बनाएको बताए ।

सम्मान कार्यक्रममा वडाध्यक्ष हिराबहादुर थापा, वडा सचिव राजाराम शर्मा, स्थानीयवासी दलबहादुर घिमिरे, यज्ञका प्रमुख पण्डित टीकानन्द सुवेदीलगायत स्थानीय सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । श्रीमद्भागवत ज्ञान महायज्ञबाट सङ्कलित रकम कोषमा राखिएको मन्दिर सञ्चालक समितिका अध्यक्ष हिराबहादुर घिमिरेले बताए । मन्दिरको चौतर्फी विकासका लागि अक्षयकोषले थप सहज बनाएको उनको भनाइ थियो ।