विपन्न परिवारले पाए निःशुल्क घर

फागुन २७, तम्घास – ‘निर्वाचनमा भोट माग्न आउँदा अनेक थरिका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन । अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ । ’ यो भनाइ गुल्मीका मदाने गाउँपालिका–३ सिर्सेनी पोखराका माया विश्वकर्माको हो ।

विश्वकर्मा सालझण्डी ढोरपाटन सडकखण्ड विस्तार गर्दा विस्थापित भएका थिए । छ वर्षअघि विस्थापित हुनुभएकी विश्वकर्मा अरुको घर, विद्यालय र त्रिपालमुनि बस्दै आएका थिए । तर अहिले सरकारले निःशुल्क घर उपलब्ध गराएसँगै उनी खुसी छन् ।

सोही ठाउँका केशव सुनार पनि उक्त सडकखण्डबाट पीडित छन् । विगतका स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा घर बनाइदिने आश्वासन दिँदा विभिन्न दलका नेता–कार्यकर्ता भोट माग्न आए । तर घर बन्ने कुरामा पत्यार नभएको उनी बताउछन् । ‘घर बन्ने आशमा भोट हालेको तर पत्यार लागेको थिएन ’ उनले भने ‘नयाँ घर मिलेको छ, गाउँपालिकाप्रति आभारी छु ।’

नयाँ घर प्राप्त गरेका बोमलाल अर्यालले पनि अब आफूहरू ढुक्कसँग निदाउने प्रतिक्रिया दिनुभयो । भूकम्पमा चर्किएको घर सडक विस्तारको क्रममा पहिरोे गई जोखिममा थियो तर घर बनाउने आर्थिक उपाय नभएपछि उहाँ जोखिम मोलेरै उक्त घरमा बसेका थिए । ‘वर्षायाममा ठूलो पानी आउँदा कतिबेला बगाउँछ भनेर रातभर जाग्रम बस्थ्यौ ’ उनले भने ‘अब नयाँ घरमा ढुक्कसँग निदाउन पाइने भयो । ’ त्यसका साथै उहाँले आफूहरूलाई सानो भए पनि रोजगारीको व्यवस्था गरिदिन आग्रह गरे ।

माया, केशव र बोमलाल त राज्यको तर्फबाट निःशुल्क घर प्राप्त गर्ने उदाहरणीय पात्रमात्रै हुन् । सिर्सेनी पोखरामा उहाँहरूजस्तै १७ जनाले नयाँ घर पाएका छन् । विसं २०७२ को भूकम्पमा उक्त घर सामान्य चर्किएका थिए । त्यसपछि सालझण्डी–ढोरपाटन सडक विस्तारका कारणले पहिरो जाँदा उनीहरु विस्थापित भएका थिए ।

विस्थापितमध्ये दुई परिवार छिमेकीको घरमा आश्रय लिँदै आएका थिए भने १५ परिवार जोखिम मोेलेरै चर्किएको घरमा बसेका थिए । विस्थापितलाई लक्ष्य गरी गाउँपालिकाले बस्ती निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । बुधबार एक कार्यक्रमको आयोजना गरी पूर्वमन्त्री एवं सोही क्षेत्रका सासंद गोकर्ण विष्टले पीडित परिवारलाई घर हस्तान्तरण गरे ।