भद्रपुरमा डेढ करोडको लागतमा काली मन्दिर

फागुन ५, भद्रपुर  – झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए ।

विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उनले बताए । ‘हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौँ” उनले भने ‘ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको काली मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ ।’

मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले रु २७ लाख सहयोग उपलब्ध गराएको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नमूनायोग्य र दर्शनीय काली मन्दिर निर्माण गरेर पर्यटक भित्र्याउने सोचअनुरुप मन्दिर निर्माण गरिएको बताए । ‘नगरकै आकर्षक धार्मिक पर्यटकीयस्थल बनाउने योजनामा स्थानीयवासी लाग्नुभएको छ ’ उनले भने ‘यसमा नगरपालिकाले पनि सहयोग गरेको हो ।’

मन्दिर निर्माणका लागि विभिन्न दाताले आर्थिक सहयोग गर्नुभएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष रमेशकुमार पराजुलीले बताए । ‘दाताबाट सङ्कलित सहयोग पारदर्शी र मितव्ययी तरिकाले मन्दिर निर्माणमा खर्च गरिएको छ ’ उनले भने काली, दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीका ठूला मूर्ति भारतको राजस्थानबाट र सोहीअनुरुपका साना मूर्ति भारतको सिलीगुढीबाट खरिद गरेर ल्याइएको छ । सात लाखको लागतमा मूर्ति खरिद गरेर ल्याइएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मोहन कुमाइले जानकारी दिए ।