चितवनका ५६ हजार बढी बालबालिकालाई खोप

फागुन २, चितवन –  जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा तीन हजार ११४ , रत्ननगरमा आठ हजार ७१६, राप्तीमा चार हजार ९२७, कालिका नगरपालिकामा तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएका हुन् ।

कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो । यसअन्तर्गत २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो । जिल्लामा ८० हजार हाराहारी सो उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ ।