अवरुद्ध विद्युत् र सञ्चार सेवा सुचारु

माघ २४, म्याग्दी – गत विहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध म्याग्दीको धौलागिरि गाउँपालिका –१ गुर्जाको विद्युत् र सञ्चार सेवा सुचारु भएको छ ।

स्थानीयवासीको सहयोगमा विद्युत् र सञ्चारका उपकरणको मर्मत पछि ती सेवा तीनदिनपछि पूर्ववत् सञ्चालन भएका धवलागिरि – १ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए । उनका अनुसार अनुसार यही माघ २० गते विहानैदेखि गुर्जामा हिउँले ती उपकरणमा क्षति पु¥याए पछि सेवा अबरुद्ध भएको थियो ।

विद्युत् सेवा सुचारुसँगै मोबाइल र इन्टरनेट सेवा समेत सुचारु भएका छन् । गुर्जा क्षेत्रमा अझैसम्म तीन फिटभन्दा बढी हिउँ जमेको उनले जानकारी दिए । यसैगरी हिमपातका कारण अवरुद्ध भएको लुलाङदेखि गुर्जा जाने पदमार्ग पनि खुलाउने प्रयास भैरहेको उनले बताए ।