काठमाडौं उपत्यकामा हट्यो सवारीसाधनमा जोरबिजोर

माघ २४, काठमाडौं – कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै मध्यरातिबाट निर्णय लागू भएको हो।

७ माघ मध्यरातिदेखि जोरबिजोर लागू भएको थियो। त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर हटाइएको थियो। तर, निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोरोना महामारीमा जारी स्वास्थ्य मापदण्डको पालना गर्नेगरी जोरबिजोर हटाइएको बताए। उनका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएको छ।