बाग्लुङमा नगरपालिका र अदालतको सेवा स्थगित

माघ १४,बाग्लुङ – पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तीव्र फैलावटलाई हेरेर कतिपय कार्यालयले सेवा स्थगन गरेका छन् ।

बागलुङ नगरपालिकाले आजदेखि यही माघ २१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सबै नियमित सेवा सेवा बन्द गरेको छ । जनप्रतिनिधि, कर्मचारी र नगरवासीमा तीव्रगतिमा सङ्क्रमण फैलिएकाले सेवा प्रवाहलाई स्थगन गर्नुपरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।

कर्मचारी नै सङ्क्रमित भएर आइसोलेशनमा बस्नुपरेकाले दैनिक सेवा सञ्चालनमा बाधा उत्पन्न भएको उहाँको भनाइ छ । कन्ट्याक्ट ट्रेसिङमा परेका कारणले पनि कतिपय कर्मचारी कार्यालय आउन सकेका छैनन् । नगरपालिकाअन्तर्गत वडा र विषयगत शाखाबाट प्रदान हुने सेवा पनि स्थगन भएको जनाइएको छ ।

जिल्ला अदालतले पनि आइतबारदेखि आउँदो २५ गतेसम्मलाई अत्यावश्यकबाहेकका नियमित सेवा स्थगन गर्ने निर्णय गरेको छ ।
सेवा स्थगन भएको अवधिमा मुद्दा, रिट तथा निवेदनहरूमा रहेका हदम्याद, म्याद र तारेख भने नगुज्रने अदालतले स्पष्ट पारेको छ । गत आइतबारदेखि मालपोत कार्यालयको सेवा पनि प्रभावित छ । चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा मिल्दाजुल्दा लक्षण देखिएर घरमै एकान्तबासमा बसेकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्नुपरेको मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले बताए ।

सेवाग्राहीको भीडभाड हुने जिल्ला प्रशासन, अदालत, मालपोत, नापी, यातायातजस्ता सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम बढी छ । सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला कोभिड–१९  संकट  व्यवस्थापन केन्द्रले नयाँ नियम तोकेको छ । बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले अबदेखि स्थानीय तहअनुसार दिन बाँडेर सेवा दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थासहित सबै सार्वजनिक निकायबाट सेवा लिन १८ वर्ष उमेर पुगेका व्यक्तिलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

स्वास्थ्य कार्यालयको आँकडाअनुसार जिल्लामा हाल ५४१ कोरोनाका सक्रिय सङ्क्रमित छन् । पछिल्ला दिनमा सङ्क्रमितको स्ख्या बढ्दो क्रममा छ । बिहीबार मात्र ८८ जनामा कोरोना पुष्टि भएको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।