सडक पुल अतिक्रमण गरेर सटर निर्माण

माघ ९, म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ हाँडेभिरमा सडक र मोटरेबल पुल अतिक्रमण गरी टहरा बनाएर सटर भाडामा लगाइएको छ । सडक र पुलको क्षेत्राधिकार अतिक्रमण गरेर निर्माण भएको टहरा हटाउन नगरपालिकाले दिएको निर्देशन पालना भएको छैन । टहरा बनाएर भाडामा लगाउने व्यवसायी कुलप्रसाद घर्ती र नगरपालिकाबीच भएको सम्झौताको अवधि एक वर्षअघि नै सकिएको थियो ।

बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–२ हाँडेभिर र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि रहेको मोटरेबल पुलसँगैको जग्गा व्यवसायी घर्तीले विसं २०७२ माघ १ गते वार्षिक १० प्रतिशतका दरले बढ्ने गरी ५ हजार र तिर्ने गरी पाँच वर्षका लागि भाडामा लिएका थिए । पुलमुनि कृषि औजार कारखाना चलाएका उहाँले पुलसँग जोडेर बनाएको टहरामा सटर हालेर होटल, रेष्टुरेन्ट र किराना पसल सञ्चालकलाई भाडामा लगाएका छन् ।

सम्झौताविपरीत पुलसँग जोडी संरचना निर्माण गरेको र निर्धारितभन्दा बढी जग्गा प्रयोग गरेको भन्दै नगरपालिकाले विसं २०७७ माघदेखि सम्झौता रद्द गर्ने निर्णय गर्दै ३० दिनभित्र खाली गराउन निर्देशन दिएको थियो ।

बेनपा–२ का वडाध्यक्ष हीराबहादुर थापाले कार्यपालिकाको बैठकले गरेको निर्णय अटेर गरेर व्यवसायी घर्तीले आफूखुशी सार्वजनिक जग्गामा संरचना बनाएर अतिक्रमण गरेका बताए । ‘हामीले संरचना हटाउन भनेर ताकेता गरेका छौँं ’उनले भने ‘अटेर गरेर खाली गर्नुभएको छैन । सम्झौता नवीकरण नभए पनि व्यवसायी घर्तीले नगरपालिकाको राजस्व खातामा एक वर्षको अग्रिम भाडावापतको रु सात हजार ३२० जम्मा गरेका थिए ।

बेनी नगरपालिकाको कार्यालय अगाडि नै रहेको पुलसँग जोडिएका टहराका कारण सवारीसाधन र पैदलयात्रुलाई आवतजावतमा असहज भएको छ । दुर्घटनाको जोखिम बढेको छ । नगरपालिकाले विसं २०७४ मा बेनी–बाग्लुङ सडकको क्षेत्राधिकार ३० मिटर र सेटब्याक छ मिटर कायम गरेको थियो । सडकको क्षेत्राधिकारभित्र पर्ने जग्गामा नगरपालिकाले भौतिक संरचना बनाउन अनुमति दिँदैन ।

व्यवसायी घर्तीले भने आफूले अतिक्रमण नभएर राज्यलाई कर तिरेर पुलको संरक्षण गरेको दाबी गरे । खेर गएको ठाउँमा उद्योग चलाएर ५० जनालाई रोजगारी दिएको छु । उनले भने ‘लोपोन्मुख आरन उद्योग चलाएर रोजगारी दिएको र सस्तोमा कृषि औजार उत्पादन तथा मर्मत गरेकामा प्रोत्साहन गर्नुको साटो हटाउन खोजेर दुःख दिने काम भएको छ ।’